close

६७ वर्षदेखि अन्तरिक्षमा छ विश्वको सबैभन्दा पुरानो स्याटलाइट, फर्काउने प्रयासमा वैज्ञानिक

टेकपाना टेकपाना

चैत ३१, २०८१ १६:३०

६७ वर्षदेखि अन्तरिक्षमा छ विश्वको सबैभन्दा पुरानो स्याटलाइट, फर्काउने प्रयासमा वैज्ञानिक

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित परामर्शदातृ फर्म बुज एलेन ह्यामिल्टनका अनुसन्धानकर्ता र इन्जिनियरहरूको एक टोलीले १७ मार्च १९५८ मा प्रक्षेपित भ्यानगार्ड-१ नामक स्याटलाइट पृथ्वीमा फर्काउने प्रस्ताव अघि सारेका छन् । यो उपग्रह, जुन एउटा भोगटे जत्रो गोलाकार आकारको छ ।

यो स्याटलाइट ऐतिहासिक अन्तरिक्ष युगको प्रारम्भिक दिनहरूमा प्रक्षेपण क्षमता परीक्षणको रूपमा पठाइएको थियो । त्यस समयका अन्य उपग्रहहरू पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गरी जलेर नष्ट भएका छन् । तर भ्यानगार्ड-१ अझै पनि अन्तरिक्षमा चुपचाप पृथ्वीको परिक्रमा गरिरहेको छ ।

अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोलीले उक्त स्याटलाइटलाई नजिकबाट निरीक्षण गर्ने प्रयोजनका लागि फर्काउन चाहिरहेको छ र त्यसको उपाय खोजीरहेको छ ।

सन् १९५५ मा नाभल रिसर्च ल्याब्रेटरीले परिकल्पना गरेको भ्यानगार्ड-१ संयुक्त राज्य अमेरिकाको दोस्रो स्याटलाइट हो । यसलाई तीन-चरणको प्रक्षेपण यानको प्रक्षेपण क्षमता र उपग्रहमा कठोर अन्तरिक्ष वातावरणको प्रभाव परीक्षण गर्न डिजाइन गरिएको थियो । आज यो पृथ्वीको परिक्रमा गर्ने सबैभन्दा पुरानो कृत्रिम वस्तुको रूपमा रहेको छ ।

सन् १९६४ मा यसले काम गर्न छोडेको भए पनि ट्र्याकिङ डेटाले यसको स्थान र अर्बिट देखाउँछ । यो स्याटलाइटको अवस्थिति उच्च अण्डाकार कक्षमा रहेकाले यति लामो समयसम्म टिकेको हो । तत्कालीन सोभियत सङ्घका स्पुतनिक र अमेरिकी एक्सप्लोरर-१ जस्ता अन्य प्रारम्भिक समयका स्याटलाइट तल्लो कक्षमा हुने वायुमण्डलीय घर्षणका कारण केही महिना वा वर्षभित्र पृथ्वीमा खसेका थिए । यदि भ्यानगार्ड-१ लाई फिर्ता ल्याउन सकियो भने यो नै पृथ्वीमा फर्काइएको सबैभन्दा पुरानो स्याटलाइट हुनेछ ।

अनुसन्धानकर्ताहरूले यो उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा राखेर अन्तरिक्षबाटै समात्न वा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा तान्न सकिने सुझाव दिएका छन् । सन् १९८४ मा नासाले आफ्ना अन्तरिक्षयात्रीहरूलाई म्यान्ड म्यान्युभरिङ युनिट भनिने जेटप्याक प्रयोग गरेर अन्तरिक्षमा हिँड्न लगाएर एउटा स्याटलाइट समात्न लगाएको थियो ।

माथिल्लो तहको रकेट असफल भएपछि वेस्टर ६ र पालापा बी२ कम्युनिकेसन स्याटलाइटहरू गलत कक्षमा पुगेका थिए । त्यसैले नासाले ती त्रुटिपूर्ण तर चालु अवस्थामा रहेका यानहरूलाई पुन: प्राप्त गर्न अन्तरिक्षयात्रीहरूलाई पठाएको थियो । ती स्याटलाइटलाई स्पेस शटलको पेलोड बेमा राखिएको थियो र पृथ्वीमा फर्काइएको थियो । स्पेस शटल पेलोड बे अन्तरिक्षको यस्तो ठाउँ, जहाँ फराकिलो र दबाब रहित स्थान रहेको छ । यही स्थानबाट स्याटलाइट तथा स्पेस स्टेसन मोडुलहरू कक्षमा छोडिन्छ ।

भ्यानगार्ड-१ कति पुरानो भइसकेको छ भन्ने कुरालाई विचार गरेर त्यसलाई सावधानीपूर्वक ह्यान्डल गर्नुपर्ने सुझाव अनुसन्धानकर्ताहरूले दिएका छन् । पुन: प्राप्ति प्रयास गर्नु अघि, टोलीले यसको अवस्था नजिकबाट निरीक्षण गर्न एक अन्तरिक्ष यान पठाउनु पर्ने उनीहरूको सुझाव छ । इन्जिनियरहरूले नासा बाहिरका अन्तरिक्ष उद्यमलाई आर्थिक सहयोग दिएर वा स्पेसएक्स यान प्रयोग गरेर सो स्याटलाइटलाई पृथ्वीमा ल्याउन सुझाव दिएका छन् ।

एक पटक पृथ्वीमा ल्याएपछि विशेषज्ञहरूले भ्यानगार्ड-१ को अवस्था मूल्याङ्कन गर्नेछन् । यसमा रहेको अन्तरिक्षको फोहोर, त्यसको अहिलेको अवस्था र कक्षमा यसको समयले स्याटलाइटलाई कस्तो असर गरेको छ आदि विषयहरू हेरिनेछ । टोलीका अनुसार, त्यसपछि उपग्रहलाई स्मिथसोनियन (अमेरिकी अनुसन्धान संस्था) मा टाइम क्याप्सुलको रूपमा प्रदर्शनका लागि राख्न सकिन्छ, जुन अन्तरिक्ष उडानको इतिहासको सम्झना दिलाउने वस्तु बन्नेछ ।

भ्यानगार्ड-१ को पुन: प्राप्तिको प्रयासले भविष्यका मिसनहरू (अन्तरिक्षमा रहेको फोहोर हटाउने, कक्षमा हुने निर्माण कार्यका लागि सामग्री जम्मा पार्ने, र गहिरो अन्तरिक्ष अन्वेषण गर्ने आदि) ‍मा सहयोगी प्रविधि निर्माणमा सहयोग पुग्ने अपेक्षा अध्ययन पत्रमा उल्लेख छ । “भ्यानगार्ड-१ लाई पुन: प्राप्त गर्नु चुनौतीपूर्ण हुनेछ, तर सम्पूर्ण अमेरिकी अन्तरिक्ष समुदायको लागि यो एक अमूल्य कदम हुनेछ ।” त्यसमा भनिएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १६:३०