काठमाडौँ । अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट् इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’मार्फत सार्वजनिक हुने भएको छ । काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ ।
सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख दोस्रो हप्तादेखि प्रसारण हुनेछ । पहिलो सिजनका लागि तयार गरिएका १२ ओटा श्रृङ्खला एकै पटक स्ट्रिमिङमा आउने निर्देशक विमलेश अधिकारीले जानकारी दिए ।
सिचुएशनल कमेडी-ड्रामा विधामा आधारित सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली, आपसी सम्बन्ध र प्रवासी समस्यालाई चित्रण गरेको अधिकारीको भनाइ छ । अमेरिकामा रहेकी छोरीलाई भेट्न पुगेका अभिभावक र छोरी लिभ–इन रिलेसनशिपमा रहेको थाहा पाएपछि उत्पन्न घटनाक्रमलाई सिरिजको मुख्य कथावस्तु बनाइएको छ ।
सिरिजमा नायिका अरुणिमा लम्सालले झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन् । साथै, बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, रोजिना थापा लगायतको अभिनय रहेको छ ।
विवेक चम्लागाईंको लेखन, रोशन घिमिरेको लगानी, सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताको रूपमा संलग्न रहेको सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको छ । सिरिजको सम्पादन मित्र डि गुरुङ, छायाङ्कन निर्देशन विक्रान्त मान श्रेष्ठ र साउन्ड डिजाइन अमित श्रेष्ठले गरेका छन् ।
निर्देशक अधिकारीका अनुसार सिरिजले मनोरञ्जनका साथै प्रवासी नेपालीको आत्म–पहिचान र जीवन यथार्थ प्रस्तुत गर्ने उद्देश्य राखेको छ । सिरिजको सम्पूर्ण १२ एपिसोड वैशाख दोस्रो हप्ताबाट ‘एमएसएम भिडिओ’ एपमा हेर्न सकिने बताइएको छ ।