काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय एरो फ्लाइट नेपालमा छिट्टै ल्याउन सकिने बताएका छन् ।
चौधरीले मंगलबार सामाजिक सञ्जालमा चीनको अटोफ्लाइट कम्पनीले निर्माण गरेको फायर फ्लाइटको परीक्षण उडानमा सहभागी भएको तस्बिर र भिडिओ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उक्त फायर फ्लाइट आगलागी, बिरामीको उद्दार र ढुवानीका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
“हामीसँग पहिले नै यो भएको भए वनमा भएको आगलागीमा प्रयोग गर्न सकिन्थ्यो । तर सायद छिट्टै ल्याउँछौँ,” उनले लेखेका छन् ।
चीनको अटोफ्लाइट कम्पनीले निर्माण गरेको यो फायर फ्लाइट पूर्ण रूपमा विद्युतीय जहाज हो । स्वचालित रूपमा चल्नसक्ने यसलाई पाइलटले रिमोटबाट पनि कन्ट्रोल गर्न सक्छन् । ४०० किलोग्राम तौल रहेको यो जहाज २०० किलोमिटर प्रति घण्टाको गतिले उड्न सक्छ ।
यस विमानले एक पटकमा ८०० वर्ग मिटर (८,६११ वर्ग फिट) क्षेत्रफलसम्मको आगो निभाउने क्षमता सक्छ । यसमा एउटा ठुलो पखेटा सहित १३ ओटा पङ्खा राखिएका छन् । यसमा भएको १३ ओटा विद्युतीय मोटरहरू राखिएको छ । तर, यो जहाज व्यावसायिक रूपमा भने बजारमा उपलब्ध भइसकेको छैन ।