काठमाडौँ । कुनै समय युरोप-अमेरिकाका बजारमा समेत चर्चा पाएको नेपाली मोबाइल एप पिकोभिकोले नयाँ अवतारमा पुनरागमन गर्ने भएको छ । फोटो टु भिडिओ मेकरको आफ्नो पुरानो परिचयलाई बदलेर पिकोभिको क्लाउडमा आधारित थिएटर म्यानेजमेन्ट सिस्टमको रूपमा प्रस्तुत हुन लागेको हो ।
टेकपानालाई प्राप्त जानकारी अनुसार पिकोभिकोको थिएटर म्यानेजमेन्ट सिस्टम नेपालसँगै बंगलादेश, कम्बोडिया र इन्डोनेसियामा उपलब्ध हुनेछ । यो प्लेटफर्मबाट सिनेमा हलका विविध कार्य स्वचालित रूपमा सञ्चालन हुने बताइएको छ ।
यस सिस्टमले सिनेमा हल र कम्पनीहरूलाई टिकट बिक्री, स्क्यानिङ, कन्सेसन व्यवस्थापन, सिट व्यवस्थापन, शो तालिका व्यवस्थापन, एकीकृत भुक्तानी प्रणाली, पार्किङ व्यवस्थापन, सदस्यता तथा लोयल्टी कार्यक्रम, मोबाइल एप र विस्तृत विश्लेषण ड्यासबोर्डजस्ता सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
अबको एक महिनाभित्र औपचारिक रुपमा यो उत्पादन बजारमा ल्याउने कम्पनीको तयारी छ ।