close

नयाँ विन्डोज कम्प्युटर चलाउनु हुन्छ ? सम्भावित जोखिम कम गर्न तत्काल मिलाउनु होस् यी ६ सेटिङ

टेकपाना टेकपाना

बैशाख १४, २०८२ १६:५७

नयाँ विन्डोज कम्प्युटर चलाउनु हुन्छ ? सम्भावित जोखिम कम गर्न तत्काल मिलाउनु होस् यी ६ सेटिङ

काठमाडौँ । नयाँ विन्डोज ११ कम्प्युटरलाई आफूले चाहे जस्तो बनाउन सफ्टवेयर र वालपेपर परिवर्तन गर्नु जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी महत्त्वपूर्ण त्यसको सुरक्षा सेटिङहरू मिलाउनुमा हुन्छ ।

यी सेटिङ परिवर्तन गर्नाले अनलाइन खतराहरूबाट बच्न र मानसिक रूपमा ढुक्क हुन सहयोग पुग्छ। आज हामी तपाईँलाई आफ्नो ल्यापटप तथा कम्प्युटरमा मिलाउनु पर्ने महत्त्वपूर्ण ६ ओटा सेक्युरिटी सेटिङको बारेमा बताउँदै छौँ ।

१. भरपर्दो एन्टिभाइरस राख्ने

विन्डोज ११ कम्प्युटरमा सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको राम्रो र भरपर्दो एन्टिभाइरस प्रोग्राम इन्स्टल गर्नु हो । एन्टिभाइरसले असुरक्षित वेबसाइटहरूमा जान र नचिनेका फाइलहरू डाउनलोड गर्नबाट बचाउँछ । बैङ्किङ र अन्य वित्तीय कामहरू सुरक्षित रूपमा गर्नका लागि केही एन्टिभाइरसमा विशेष फिचर पनि हुन्छ ।

शङ्कास्पद ईमेलका फाइलहरू, झुक्याउने पप-अपहरू, र नक्कली ब्राउजर एक्सटेन्सन लगायतका अनलाइन जोखिमहरूबाट बच्न उच्च स्तरीय एन्टिभाइरस प्रयोग गर्नु राम्रो मानिन्छ । निःशुल्क रूपमा उपलब्ध एन्टिभाइरसहरूले सामान्य सुरक्षा दिए पनि, राम्रो एन्टिभाइरसले अलि ढुक्क तुल्याउँछन् ।

२. पासवर्डलेस साइन-इन अर्थात् पासवर्ड बिना लगइन गर्ने सुविधा बन्द गर्ने

विन्डोजले पासवर्ड बिना लगइन गर्न प्रोत्साहन गरे पनि यसलाई सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ । त्यसैले यसलाई सकेसम्म सधैँ बन्द गर्नुहोस् । यदि कसैले तपाईँको कम्प्युटरमा भौतिक पहुँच पायो भने, उसले सजिलै तपाईँका फाइलहरू हेर्न सक्छ ।

घरमा एक्लै बस्ने भए पनि, ल्यापटप कफी शप वा यात्रामा लैजाँदा चोरी भएमा जो कसैले पनि सबै कुरामा तत्काल पहुँच पाउन सक्छ । त्यसैले बलियो पासवर्ड राख्नु सुरक्षित मानिन्छ। बलियो पासवर्ड बनाउन पासवर्ड म्यानेजरको पनि प्रयोग गर्न सक्नु हुन्छ । यदि तपाईँको सपोर्ट गर्छ भने आफ्नो विन्डोज ११ ल्यापटपमा फिङ्गरप्रिन्ट स्क्यानर पनि प्रयोग गर्न सक्नु हुन्छ । तर यो पनि पासवर्डको अतिरिक्त सुरक्षाको उपाय मात्र हो, मुख्य सुरक्षाको उपाय होइन ।

३. एप पर्मिसन चेकजाँच गर्नुहोस्

कुन एपहरूले तपाईँको लोकेशन (ठेगाना), माइक्रोफोन र क्यामेरा जस्ता कुराहरूमा पहुँच पाएका छन् भनेर जाँच गर्नु पनि महत्त्वपूर्ण छ । धेरैजसो एपहरूले आवश्यक भन्दा बढी अनुमति मागेका हुन सक्छन् । त्यसैले आफ्नो कम्प्युटरको Settings हुँदै Privacy and security मा गएर App permissions सेक्सनबाट कुन एपलाई कुन अनुमति दिइएको छ भनेर हेर्न र व्यवस्थापन गर्न सक्नु हुन्छ ।

यदि कुनै एपलाई किन अनुमति दिइएको हो भन्ने याद छैन भने त्यसलाई बन्द गरिदिनु होस् । जुम वा म्याप जस्ता एपहरू बाहेक अन्य एपहरूलाई यी संवेदनशील जानकारीहरूमा डिफल्ट किसिमले पहुँच दिई रहनुपर्ने खास कारण हुँदैन । यसरी कुनै एपलाई पृष्ठभूमिबाट अवाञ्छित गतिविधि गर्न र अनावश्यक डेटा सङ्कलन गर्नबाट रोक्न सकिन्छ ।

कहिलेकाहीँ एप डेभलपरहरूले भविष्यमा थपिने फिचरका लागि अहिले नै अनुमति मागेका हुन सक्छन् । अथवा एपले प्रयोग गर्ने थर्ड-पार्टी टुललाई यस किसिमको अनुमति आवश्यक हुन सक्छ । तर पनि, बिना जानकारी पहुँच दिनुभन्दा एक पटक जाँच गर्नु राम्रो हुन्छ । मानौँ कुनै क्यालकुलेटर एपले तपाईँको लोकेशनको पर्मिसन मागिरहेको छ भने त्यो खतराको घण्टी हुन सक्छ ।

४. अप्टिकल डायग्नस्टिक डेटा बन्द गर्ने

आफ्नो ब्राउजिङ गतिविधि, एप प्रयोग, र डिभाइस गतिविधि जस्ता जानकारीहरू सङ्कलन भएकोमा कुरामा सहज महसुस गर्नु हुन्न भने अप्टिकल डायग्नस्टिक डेटा बन्द गर्नुहोस् । सामान्यतया, तपाईँको कम्प्युटरले सिस्टमको धारभूत जानकारी माइक्रोसफ्टलाई पठाउँछ ।

तर यसले तपाईँलाई सिस्टम सेटिङ, एपहरू, र एज ब्राउजरमा भिजिट गरेका साइटहरू बारे थप डेटा पठाउने विकल्प पनि दिइरहेको हुन्छ । यदि तपाईँ चाहनु हुन्छ भने Settings बाट Privacy and Security हुँदै Diagnostics and Feedback मा गएर यस किसिमको पर्मिसन बन्द गर्न सक्नुहुन्छ ।

५. उपलब्ध भएसम्म बिटलकर इनेबल गर्ने

यदि तपाईँ विन्डोज ११ प्रो प्रयोग गर्दै हुनुहुन्छ भने, बिटलकर अन गर्नु राम्रो मानिन्छ । यो एक बिल्ट-इन इन्क्रिप्सन (डेटालाई गोप्य बनाउने) उपकरण हो, जसले पूरै ड्राइभलाई सुरक्षित गर्छ । यसको मतलब यदि कसैले तपाईँको ल्यापटप चोरी भयो भने पनि चोरले हार्ड ड्राइभ निकालेर अर्को पीसीमा जोडेर तपाईँका फाइलहरू हेर्न सक्दैन ।

यो सुविधा Settings बाट Privacy and security मा गएर त्यसपछि Related settings सेक्सन अन्तर्गत रहेको BitLocker Drive Encryption मा भेट्न सकिन्छ । यदि तपाईँको कम्प्युटरमा यो सुविधा उपलब्ध छ, तर इनेबल गरिएको छैन भने, यसलाई अन गर्नु होस् ।

तर, यसको रिकभरी कीलाई भने सुरक्षित ठाउँमा ब्याकअप गर्न नबिर्सनुहोस् । किनकि यदि तपाईँ कहिल्यै लकआउट हुनुभयो भने यसको आवश्यकता पर्छ । ल्यापटप हराउने सम्भावना कम भए पनि, अप्रत्याशित घटना जुनसुकै बेला हुन सक्छ । त्यसैले केही मिनेट निकालेर इन्क्रिप्सन सेटअप गर्नु भविष्यमा आफ्ना फाइलहरू गलत व्यक्तिको हातमा पर्नबाट बचाउन धेरै महत्त्वपूर्ण छ ।

६. आफ्नो कम्प्युटरलाई सुरक्षित राख्ने

धेरै प्रयोगकर्ताहरूले तब मात्र सुरक्षाको बारेमा सोच्छन्, जब आफूमाथि केही समस्या आइपर्छ । तर सुरुमै केही साधारण परिवर्तनहरू गरेर, भविष्यमा हुन सक्ने पछुतो र सम्भावित क्षतिबाट बच्न सकिन्छ । यी परिवर्तनहरू गर्न कुनै साइबर सुरक्षा विशेषज्ञ भइरहनु पर्दैन । विन्डोजमा नयाँ प्रयोगकर्ताले पनि यी कामहरू गर्न सक्छन् ।

आफ्नो गोपनीयता नियन्त्रणमा राख्न तपाईँ साइबर सुरक्षा विशेषज्ञ हुनै पर्दैन । चाहे त्यो माइक्रोफोनमा कुन एपलाई पहुँच छ भनेर जाँच गर्ने होस् वा आफ्नो डेटा इन्क्रिप्ट गर्न बिटलकर इनेबल गर्ने कुरा नै किन नहोस् । यसमा लगानी गरेको समय पक्कै पनि सार्थक नै हुन्छ । यी सेटिङहरू पछि गरौँला भनेर छोड्नु भन्दा सुरुमै सही तरिका मिलाउनु भयो भने भविष्यमा धेरै समस्याबाट बच्न र तनाव कम गर्न सक्नु हुन्छ ।

#डिजिटल ट्रेन्ड

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १६:५९