close

जब एमाले नेतृ चौधरीले नै शेयर गरिन् प्रम ओलीका ७ वर्ष पुराना अपुरा बाचा

टेकपाना टेकपाना

बैशाख १५, २०८२ २३:१०

जब एमाले नेतृ चौधरीले नै शेयर गरिन् प्रम ओलीका ७ वर्ष पुराना अपुरा बाचा

काठमाडौँ । एमालेकी युवा नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले सोमबार आफ्नो फेसबुक वालमा एउटा रोचक पोस्ट शेयर गरिन् । यो पोस्ट थियो प्रधानमन्त्री केपी शर्मा ओलीले २०१८ मे २५ मा सार्वजनिक गरेको एउटा ग्राफिक्स, जसमा पाँच वर्षभित्र काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण सम्पन्न गर्ने महत्त्वाकांक्षी योजना प्रस्तुत गरिएको थियो ।

‘Info in graphics’ क्याप्सन सहितको उक्त पोस्ट सात वर्षअघि ओलीले प्रधानमन्त्री रहँदै राखेका थिए ।

उक्त पोस्टमा ओलीले चित्रसहित द्रुतमार्गको विशेषता उल्लेख गरेका थिए- ‘राष्ट्रिय राजमार्गको दूरीमा हाइब्रिड रोड नेटवर्क, राजमार्गमा कलात्मक पुल निर्माण सुरु गरिनेछ, पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण गरिनेछ, ९२% किमि मध्य बन्दरगाह राजमार्गमा निर्माण गरिनेछ ।’

तर, २०२५ पुगिसक्दा पनि यो योजना कागजमै अल्झिएको भन्दै फेसबुक प्रयोगकर्ताहरूले ओलीको चर्को आलोचना गरिरहेका छन् । केही दिनयता नै उक्त पोस्टमा जाँदै फेसबुक प्रयोगकर्ताले कमेन्ट गर्दै आएका छन् ।

अधिकांश प्रयोगकर्ताले सात वर्ष बितिसक्दा पनि ओलीले देखाएको सपना नारामै सीमित भएको भन्दै चर्को आलोचना गरेका छन् । कतिपयले त ओलीले देखाएको त्यो ग्राफिक्सलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ को संज्ञा दिँदै व्यंग्य गरेका छन् ।

आश्चर्यको कुरा त ओलीको आलोचना भइरहेको त्यही पुरानो पोस्टलाई एमाले नेतृ चौधरीले शेयर गरेकी छन् । उनले पोस्ट शेयर गरे पनि कुनै प्रतिक्रिया वा क्याप्सन लेखेकी छैनन् । एमालेकै नेतृले प्रधानमन्त्री ओलीको सात वर्ष पुरानो अधुरो वाचालाई सम्झाइदिएपछि सामाजिक सञ्जाल प्रयोगकर्तालाई अरू के चाहियो !

कतिपयले चौधरीलाई “बा’ का गफ पुष्टि गर्न पोस्ट गरेको हो ?” भन्दै प्रश्न गरेका छन् । फेसबुक प्रयोगकर्ता दीपक लामिछानेले लेखेका छन्, “हैन के प्रमाणित गर्न यो पोस्ट गरेको दिदी ? देख्यौ हाम्रा बा कति गफाडी छन् भन्ने प्रमाणित गर्न हो कि ?”

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराको फेसबुक आईडीबाट कमेन्ट आएको छ- “पहिलो पटक प्रधानमन्त्री हुँदा बनाएको चित्र तेर्सो पटक पनि प्रचारप्रसार हुँदैछ। अब काम नलाग्ने डिजाइनलाई चित्र नै भनौ होला ।”

दर्शन क्षेत्रीले लेखेका छन्, “स्टन्टले देश बनेन । ७ बर्ष बित्दा पनि काम पूरा भएन ।”

सुमन केसीले वर्तमान समयलाई इंगित गर्दै लेखेका छन्, “अहिले २०२५ हो नि कति झ्वाम् परियो करोडौं करोडौं पैसाको चिलिम फर्के जस्तो छ ।”

गणेश क्षेत्रीले नेतृ चौधरीलाई प्रश्न गर्दै लेखेका छन्, “हिजोआजको पोस्ट सोचेर झुक्केर शेयर भयो कि दिदी ? यो पोस्टले तिम्रा केपी बा को साख बढ्ने होइन अझ प्रष्ट पार्छ कि कतिसम्म जनतालाई गफ लाउछन् भन्ने ।”

प्रेम घिमिरेले त व्यंग्यात्मक शैलीमा लेखेका छन्, “प्रमको इज्जत गरेको कि बेइज्जत गरेको यो शेयर गरेर 😁😁”

विपिन श्रेष्ठले हाँसोको इमोजी सहित लेखेका छन्, "हैट् २०१८, ७ वर्ष अगाडिको पोस्ट हालेर बा' लाई जिस्क्याको हो कि क्या हो??🤣🤣🤣”

समिर थापा प्यासीले निराशा व्यक्त गर्दै लेखेका छन्, “सन् २०१८ मा घोषणा गरेको योजना अहिले सन् २०२५ भैसक्यो । कहिले हुने हो पूरा काम ? यस्तै अन्धभक्त नेता र कार्यकर्ताहरु भएर नै उखाने बिग्रेका हुन् भन्ने कुरा कहिले बुझ्ने होलान् ?”

प्रकाश खत्रीले त सडककै दुर्दशा सम्झाए, “दाङ घोराही को २४ km फोरलेन बाटो अलपत्र परेको ८ बर्ष भयो गफ नदेऊ बा ।”

यसरी एमाले नेतृले नै प्रधानमन्त्रीको पुरानो वाचालाई सार्वजनिक गरिदिएपछि सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । चौधरीको यो कदमलाई कतिपयले ओलीको विगतको वाचा स्मरण गराउने प्रयासको रूपमा हेरेका छन् । कतिपयले यसलाई पार्टीभित्रको असन्तुष्टिको संकेतको रुपमा पनि अनुमान गरेका छन् । जे होस्, यो पोस्टले प्रधानमन्त्री ओलीको पुरानो प्रतिबद्धता र वर्तमान अवस्थालाई एकसाथ ल्याएर प्रश्न खडा गरिदिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २३:१०