close

डिजिटल नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेका छौँः प्रधानमन्त्री

टेकपाना टेकपाना

बैशाख १९, २०८२ ७:५८

डिजिटल नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेका छौँः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राखी सरकारले काम गरिरहेको बताएका छन् । आठौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै  प्रधानमन्त्री ओलीले सूचना प्रविधिको परिवर्तनकारी शक्तिलाई सदुपयोग गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

“नेपाल सरकार डिजिटल नेपालको अभियानलाई अगाडि बढाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने, डिजिटल साक्षरता बढाउने र सबै नागरिकलाई प्रविधिको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यमा अटल छ । डिजिटलाइजेसनको माध्यमबाट गुणात्मक सुधारका लागि सूचना तथा सञ्चार प्रविधिलाई मुख्य यन्त्रका रूपमा प्रयोग गर्न प्रण गर्दछौँ,” ओलीले सन्देशमा भनेका छन् ।

सरकारले सूचना प्रविधिको महत्त्वलाई अङ्गीकार गरी युवा लक्षित कार्यक्रममार्फत उद्यमशीलता र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको प्रधानमन्त्रीको भनाइ छ । कृषि, उद्योग र सेवा क्षेत्रमा आधुनिकीकरण र बजार पहुँचलाई सहज बनाउन डिजिटल माध्यम अनिवार्य रहेको उनले बताए ।

आगामी आर्थिक वर्षभित्र नागरिक एपमा प्रमुख सरकारी सेवा एकीकृत गर्ने महत्त्वाकाङ्क्षी योजना लागू गरिने जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसबाट नागरिकलाई सेवा पाउन सजिलो हुने, पारदर्शिता बढ्ने र प्रशासनिक कार्यक्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

“सरकारका प्राथमिकताका क्षेत्रमा आगामी आर्थिक वर्षभित्र नागरिक एपमा प्रमुख सरकारी सेवा एकीकृत गर्ने महत्त्वाकाङ्क्षी योजना लागू गरिनेछ । यसले नागरिकलाई सेवा पाउन सजिलो हुनेछ, पारदर्शिता बढ्नेछ र प्रशासनिक प्रक्रिया कार्यक्षमता अभिवृद्धि गर्नेछ । यस उद्देश्य प्राप्तिका लागि नागरिक एपमा समावेश भएका डिजिटल समाधान अङ्गीकार गरी सबै नागरिकको सहभागिता, निजी क्षेत्रको सहयोग र प्रविधि विशेषज्ञको सुझाव, सहयोग र सहकार्य गर्न आह्वान गर्दछौँ,” प्रम ओलीले भनेका छन् ।

सरकारले इन्टरनेट सर्वसुलभ बनाउने, ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड विस्तार गर्ने, विद्युतीय ऊर्जाको उपलब्धता र भूगोलसँग मेल खाने अन्तर्राष्ट्रिय स्तरका डाटा सेन्टर स्थापना गर्ने, विश्व स्तरीय तालिम प्रदायक मार्फत सीपयुक्त दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने, साइबर सुरक्षा र डेटा संरक्षण सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था शीघ्र लागु गर्ने प्रतिबद्धता उनले जनाए ।

डिजिटल नेपालको फ्रेमवर्क, २०७६ लाई पुनरावलोकन गरेर थप प्रभावकारी कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने र सुरक्षित एवं सहज डिजिटल वातावरण सुनिश्चित गर्न नीति कानुन र संरचनाको सुधारमा सरकार अग्रसर रहेको उनले सुनाए ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ८:३