काठमाडौँ । नेपालमा आज आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको मे २ मा यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष ‘सूचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण’ भन्ने नारासहित गोष्ठी, सेमिनार, प्रविधि प्रदर्शनी तथा सम्मान कार्यक्रमहरू आयोजना गरिँदैछन् । सूचना प्रविधिमा योगदान गरेका निकाय, उद्यमी तथा नवप्रवर्तकहरूलाई सरकारले राजधानीमा एक समारोह गर्दै सम्मान गर्ने तयारी गरेको छ ।
सरकार प्रत्यक्ष संलग्न भएर आईसीटी दिवस मनाउन थालेको आठ वर्ष भएपनि यसको सुरुवात निजी क्षेत्रको पहलबाट भएको थियो । तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल (हालको क्यान महासंघले सन् २०११ देखि नै मे २ लाई आईसीटी दिवसको रूपमा मनाउन सुरु गरेको थियो । मे महिनामा नेपालमा पहिलो मेनफ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य सुरुवाती काम भएको भएको भन्दै क्यानले यो दिवस मनाउन सुरु गरेको थियो ।
त्यतिबेला मे १ लाई नै आईसीटी दिवस मनाउने विषयमा छलफल भएपनि श्रमिक दिवसका कारण ओझेलमा पर्नसक्ने भएका कारण मे २ रोजिएको थियो । यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दियो ।
यस दिवसलाई सरकारी मान्यता दिन तत्कालीन विज्ञान, प्रविधि तथा वातावरणमन्त्री प्रेमबहादुर सिंहले भूमिका खेलेका थिए । क्यानले प्रस्तुत गरेका प्रमाण र तर्कका आधारमा मन्त्रीले क्याबिनेटमा प्रस्ताव राखेर यसलाई औपचारिकता दिलाएका थिए । त्यसपछि सम्बन्धित मन्त्रालय र सरकारी निकायहरूलाई सूचना प्रविधिको क्षेत्रमा दिन प्रतिदिन भइरहेका विकास, चुनौती र अवसरबारे छलफल गर्न र दिवस मनाउन निर्देशन दिइयो ।
वर्तमान अवस्थामा सूचना प्रविधिको प्रयोग सरकारी सेवा, निजी व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका सबै क्षेत्रमा अनिवार्यजस्तै बनिसकेको छ । यस्तो अवस्थामा सूचना तथा सञ्चार प्रविधिको अभियानलाई राष्ट्रिय प्राथमिकतामा रूपान्तरण गर्न यो दिवस साझा अवसर बन्नसक्ने यस क्षेत्रका सरोकारवाला बताउँछन् ।