काठमाडौँ । फ्रान्सका स्वास्थ्य विशेषज्ञहरूले ६ वर्ष मुनिका बालबालिकाहरूले स्क्रिन (जस्तै: मोबाइल, टेलिभिजन) बाट जोगिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसो नगरेमा उनीहरूको मस्तिष्कको विकासमा स्थायी रूपमा क्षति पुग्न सक्छ।
बाल स्वास्थ्य, जनस्वास्थ्य, आँखा स्वास्थ्य, बाल तथा किशोर मनोचिकित्सा र स्वास्थ्य तथा वातावरणसँग सम्बन्धित पाँच प्रमुख स्वास्थ्य संस्थाहरूले सरकारलाई खुल्ला पत्र नै लेखेका छन् । जसमा भनिएको छ, "टेलिभिजन, ट्याब्लेट, कम्प्युटर, भिडिओ गेम र स्मार्टफोनजस्ता स्क्रिनले युवा पुस्तामा ठुलो प्रभाव पारेको छ ।"
उनीहरूले भविष्यका पुस्तालाई जोगाउन सार्वजनिक नीतिहरूमा तत्काल पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञहरूका अनुसार, स्क्रिनले कुनै पनि रूपमा बालबालिकाको आवश्यकता पूरा गर्दैन । झन् यसले मस्तिष्कको विकासमा बाधा पुर्याउँछ र परिवर्तन गर्छ । जसले गर्दा उनीहरूको स्वास्थ्य र बौद्धिक क्षमतामा दीर्घकालीन असर पर्ने विशेषज्ञहरूले बताएका छन् ।
उनीहरूले स्क्रिनको प्रयोग घर र विद्यालय दुवै ठाउँमा बन्द गर्नुपर्ने सुझाव दिएका छन् । खुला पत्रमा भनिएको छ, "स्क्रिन प्रविधि वा त्यसका सामग्री (तथाकथित 'शैक्षिक' सामग्री समेत) विकासको प्रारम्भिक चरणमा रहेको सानो मस्तिष्कका लागि उपयुक्त हुँदैनन् । बालबालिका वयस्क होइनन्: उनीहरूको आवश्यकता फरक हुन्छ ।"
स्वास्थ्यकर्मी र शिशु कक्षाका शिक्षकहरूले हरेक दिन बालबालिकामा नियमित स्क्रिन प्रयोगले पुर्याएको क्षति अवलोकन गर्ने गरेको बताएका छन् । उनीहरूका अनुसार शिशुहरूमा प्राथमिक विद्यालय भर्ना हुनुअघि नै भाषा सिकाई ढिलो हुने, ध्यान नदिने, स्मरणशक्तिमा समस्या आउने र शारीरिक चञ्चलता जस्ता समस्या देखिने गरेका छन् । छोटो समयको लागि भए पनि नियमित स्क्रिन प्रयोगले बालबालिकाको सामाजिक र भावनात्मक विकासमा पनि नकारात्मक असर पारेको उनीहरूले बताएका छन् । यो समस्या सबै सामाजिक समूहमा देखिए पनि विशेषगरी गरिब घर परिवारमा बढी देखिने र यसले सामाजिक असमानतालाई अझ बढाउने चिन्ता व्यक्त गरिएको छ।
स्क्रिनको विकल्पका रूपमा ठुलो स्वरले पढ्न, स्वतन्त्र रूपमा खेल्न, बोर्ड गेम खेल्ने वा बाहिरी खेल खेल्न, शारीरिक, सिर्जनात्मक र कलात्मक गतिविधिहरू गर्न सकिने विज्ञहरूले सुझाएका छन् । फ्रान्समा ३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रिन देखाउन नहुने व्यवस्था लागु भइसकेको छ । र ३ देखि ६ वर्षसम्मका बालबालिकाले वयस्कको उपस्थितिमा मात्र 'कहिल्यैकाहीँ मात्र प्रयोग' गर्नुपर्छ ।