close

२०७२ को भूकम्पमा नेपालीलाई सघाएको स्काइप सधैंका लागि बन्द

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २३, २०८२ १४:०

२०७२ को भूकम्पमा नेपालीलाई सघाएको स्काइप सधैंका लागि बन्द

 

 

कुनै बेला भिडिओ कलिङको पर्याय

काठमाडौं । मे २०२५

अनलाइन भिडिओ-कलिङ सेवा ‘स्काइप’ले आफ्नो दुई दशकभन्दा लामो यात्रालाई आजदेखि बिट मारेको छ । एक निश्चित पुस्ताका लागि स्काइपले सञ्चारको दुनियाँमा क्रान्ति नै ल्याइदिएको थियो ।

स्काइप रिङटोन (सुन्नुहोस्)
 
0:00 / 0:00

सन् २००३ मा यसको सुरुवात हुनुअघि अन्तर्राष्ट्रिय फोन कल अत्यन्तै महँगो थियो । यसका लागि खासै भरपर्दो डिजिटल विकल्प उपलब्ध थिएनन् । स्काइपले प्रयोगकर्तालाई विश्वको जुनसुकै कुनामा रहेका मानिससँग सस्तो र सजिलो तरिकाले सम्पर्क गर्ने माध्यम प्रदान गर्‍यो ।

संसार जोड्ने माध्यम

यसले महँगो ल्यान्डलाइन सेवाको एकाधिकारलाई चुनौती दियो । केही वर्षपछि प्लेटफर्ममा भिडिओ कलको सुविधा थपिएपछि त स्काइपले एक दशकपछिको संसारलाई टक्क आँखै अगाडि ल्याइदियो । घरबाट टाढा हुने खासगरी विदेश अध्ययन गर्न गएका विद्यार्थीले घरपरिवारसँग जोडिन यसको व्यापक प्रयोग गरे ।

त्यस्तै विभिन्न देशका व्यक्तिसँग मित्रता गाँस्न र सीमापार सम्बन्ध विस्तार गर्न पनि स्काइप महत्त्वपूर्ण माध्यम बन्यो । सन् २००० को दशकको अन्त्यतिर स्काइप यति सर्वव्यापी हुँदा सर्चका लागि गुगल गर्ने भनेजस्तो यसको नाम पनि एउटा क्रियापद (स्काइप गर्नु) बन्यो । यसको ऊर्जावान् रिङ्टोन र अडियो नोटिफिकेसन नै मान्छेलाई प्रिय लाग्ने धुन बने ।

मोबाइल युग र प्रतिस्पर्धा

आफ्नो उत्कर्षको समयमा स्काइपका विश्वभर करिब ३० करोड प्रयोगकर्ता थिए । तर, यो डेस्कटप कम्प्युटरको युगको उत्पादन थियो । जब प्रयोगकर्ता मोबाइलतर्फ आकर्षित हुन थाले, स्काइपले ह्वाट्सएप र फेसटाइम जस्ता नयाँ प्रतिस्पर्धीसामु आफ्नो अग्रता गुमाउँदै गयो ।

आज विश्वभर धेरैजसो फोन र कम्प्युटरमा यो एप बिर्सिएको अवस्थामा छ । मार्केट रिसर्च फर्म ‘सेन्सर टावर’का अनुसार पछिल्लो समय टर्की, रुस, भारत र फिलिपिन्स जस्ता देशहरूमा अझै पनि यसका प्रयोगकर्ता थिए ।

स्काइपको नाम

२००० को दशकतिर प्रविधि क्षेत्रमा इन्टरनेटलाई ‘वायुमा हुने चिज’ वा ‘बादलमा हुने चिज’का रूपमा हेरिन्थ्यो । आकाशमा वा बादल हुँदै आवाज प्रसारित हुने माध्यम भएकाले त्यस प्लेटफर्मको नाममा आकाश (Sky) राख्ने अवधारणा संस्थापकको थियो । व्यक्तिदेखि व्यक्तिसम्म (Peer-to-pee) आवाज इन्टरनेटका माध्यमबाट पुर्‍याउने माध्यम भएकाले स्काइको पछाडि ‘Per’ अक्षर राख्दै ‘Skyper’ नामको प्लेटफर्म सञ्चालनमा ल्याउने संस्थापकको योजना थियो । तर, डोमेन लिंदा अन्तिमको ‘r’ अक्षर हटाएर कम्पनीले ‘स्काइप’ (Skype) शब्द दर्ता गर्‍यो र त्यसैलाई प्रयोगमा ल्यायो ।

स्काइपसँग नेपालीको साइनो !

स्काइप सधैंका लागि अस्ताउँदै गर्दा टेकपानाले आफ्ना सामाजिक सञ्जालमा पोस्ट राख्दै पाठक प्रतिक्रियाको आह्वान गरेको थियो । त्यस क्रममा सयौं पाठकले स्काइपसँगको यादगार पल हामीलाई साझा गरेका छन् । अधिकांशले सुरुवाती समयमा विदेश हुँदा आफन्तलाई स्काइपबाट भिडिओ कल गरेको स्मरण गरेका छन् । केहीले आफू विदेशमा हुँदा नेपालका प्रियजनसँग भिडिओ कलमा जोड्ने माध्यम स्काइप बनेको सम्झिएका छन् । जागिरका लागि अनलाइन भिडिओ अन्तर्वार्तामा स्काइपबाटै सहभागी भएको पल धेरैको मानसपटलमा अझै पनि ताजै छ ।

प्रेमी- प्रेमिका, श्रीमान-श्रीमती, आमा-बुवा आदिसँगको रोमाञ्चक र प्रिय गफगाफका सम्झनाको साँची पनि स्काइप बनेको छ । २०७२ मा गएको महाभूकम्पको त्रासमा सकुसल रहेको सूचना दिन स्काइप नै उपयुक्त माध्यम बनेको उपत्यकका नेपालीको सम्झना छ ।

स्काइप: अंकमा

0
करोड+ उच्चतम प्रयोगकर्ता
0
मिलियन डलर (माइक्रोसफ्ट खरिद)
0
वर्ष लामो यात्रा (२००३-२०२५)
0
बिलियन+ कल मिनेट (२००८ सम्म)

लोगो

२००३ (Skyper)
२००३-२००४
२००५-२००६
२००७-२०१२
२०१२-२०१७
२०१७ -२०१९
२०१९-२०२५

टाइमलाइनमा स्काइप

  •  
    अगस्ट २००३

    निकलास जेनस्ट्रोम, जानुस फ्रिस र अह्ती हेनलाले सार्वजनिक गरेको प्लेटफर्म ।

  •  
    अक्टोबर २००४

    १० लाख प्रयोगकर्ताको आँकडा पार ।

  •  
    सेप्टेम्बर २००५

    ईबेले ढाई अर्ब डलरमा स्वामित्व खरिद गर्‍यो ।

  •  
    मार्च २००७

    स्काइपको कूल डाउनलोड ५० करोड पुग्यो ।

  •  
    फेब्रुअरी २००८

    स्काइपबाट स्काइपमा हुने कल एक खर्ब मिनेट नाघ्यो ।

  •  
    मे २०११

    माइक्रोसफ्टले ईबेबाट साढे आठ अर्ब डलरमा स्वामित्व खरिद गर्‍यो ।

  •  
    जुन २०१३

    स्काइपका विभिन्न प्लेटफर्ममा भिडिओ मेसेजिङको सुविधा थप गरियो ।

  •  
    सेप्टेम्बर २०१५

    छोटा भिडिओ, मोजी र गिफ जस्ता फिचर ल्याइयो ।

  •  
    जुन २००७

    स्न्यापच्याटको जस्तै फिचरहरू ल्याएर माइक्रोसफ्टले एप परिमार्जन गर्‍यो ।

  •  
    अप्रिल २०१९

    कोभिड प्रभावले अनलाइन मिटिङको प्रवृत्ति बढेपछि कलमा ५० जनासम्म थपिने फिचर ल्याइयो ।

  •  
    फेब्रुअरी २०२५

    सधैंका लागि स्काइप बन्द गरेर माइक्टोसफ्ट टिम्सलाई बढावा दिने कम्पनीको घोषणा ।

  •  
    मे २०२५

    सधैंका लागि स्काइप बन्द ।

पाठकका सम्झनाहरू

नरेन्द्र खाती

नरेन्द्र खाती

"याहु मेसेन्जरपछि पहिलो पटक स्काइपबाट टाढा रहेका आफन्तको अनुहार हेरेरै कुरा गर्नु पाउँदाको आनन्द नै अर्कै थियो, त्यो बेला।"

वीर तामाङ

वीर तामाङ

"२०१० मा मलेसिया गएको थिएँ... साथीहरू मोबाइल मागेर बुडीलाई नम्बरमा कल गरेर साइबर जान लगाएर भिडिओ कल गर्थेँ। अँध्यारो आउँथ्यो, तैपनि कति खुशी हुन्थ्यो। मेरो लाइफको पहिलो भिडिओ कल भनेकै स्काइप हो।"

शंकर कार्की

शंकर कार्की

"बेस्ट भिडिओ कलिङ्ग र फ्री म्यासेजिङ्ग एप... जुन समय इन्टरनेशनल कॉल गर्न मिनेटकै सयौं रूपैयाँसम्म तिर्नु पर्थ्यो, त्यतिबेला संसारको जुनसुकै कुनामा बसेको आफ्ना साथी-भाइसँग ढुक्कले कुरा गर्न मिल्थ्यो, त्यो पनि लाइभ बसेर!! साइबर क्याफेमा जाने १ घण्टा मस्त कुरा गर्ने २० रूपैयाँ तिर्ने देखी, मोबाइलसम्म डाउनलोड गरी चलाइएको थियो, तर फेसबुक म्यासेन्जर र इमो प्रयोग बढेसँगै यो ओझेलमा पर्यो ।"

अशोक शर्मा

अशोक शर्मा

"स्काइपसँग धेरैको जीवनमा कुनै न कुनै सम्झना जोडिएको हुन्छ । मेरो तर्फबाट एउटा यस्तो सम्झना: कोभिड-१९ को लकडाउनको बेला स्काइप मेरो र परिवारको 'साँध' बनेको थियो । विदेशमा रहेका दाजु-भाउजू र भान्जासँग स्काइपमै पहिलो पटक भिडिओ कल गरेर दशैंको टीका लगाएको सम्झना अहिलेसम्म ताजा छ । स्क्रिनको अर्को पट्टि राखिएको फूलमाला र टीका देखाउँदै, हामीले परदेशमा पनि चाडपर्वको स्वाद लिइरहेका थियौं । त्यो क्षण टेक्नोलोजीले बनाइदिएको आत्मीयता थियो, जुन कहिल्यै बिर्सन सकिँदैन । "

जीवन बस्याल

जीवन बस्याल

""हेल्लो! हेल्लो! सुनिन्छ त ?" कति पटक भनिएको होला यो स्काइपमा! कहिले इन्टरनेट स्लो भएर आवाज 'रोबोट' जस्तो आउँथ्यो, कहिले भिडिओ फ्रिज भएर अनुहार हाँसिरहेको देखिन्थ्यो तर आवाज रुँदै गरेको सुनिन्थ्यो । त्यही पनि बिजोक रमाइलो थियो ।"

ससी रिमाल

ससी रिमाल

"सन् २०१२ को कुरा हो । म काठमाडौँको सानो कोठामा बस्थेँ, भर्खर कलेज जीवन सुरु भएको थियो । मेरो गर्लफ्रेन्ड, सायना, अमेरिकामा मास्टर्स पढ्न गएकी थिई । हामीले फोन र म्यासेजमा कुरा त गर्थ्यौँ, तर उनको मुस्कान नदेखेको महिनौँ भइसकेको थियो । टाढाको सम्बन्धले मनमा अनेक डर—कतै यो माया कमजोर हुन्छ कि ! सायनाले एक दिन भनिन्, "स्काइपमा डेट गरौँ न!" मलाई स्काइप चलाउन खासै आउँदैनथ्यो, तर उनको जोश देखेर ल्यापटपमा स्काइप डाउनलोड गरेँ । इन्टरनेटको हालत बेकार—जोडियो, काटियो । बल्लतल्ल खाता बनाएर उनलाई कनेक्ट गरेँ । स्क्रिनमा सायनाको अनुहार देख्दा मन ढक्क भयो । रातो टप, खुला कपाल, र उनको कोठाको झ्यालबाट अमेरिकाको सडक देखिन्थ्यो ।
हामीले "भर्चुअल डेट" सेट गर्यौँ । मैले कोठामा मैनबत्ती बालेर सजाएँ, उनले टेबलमा कफी र केक राखिन् । हाँस्दै जिस्कियौँ—मैले भनेँ, "तेरो कफीले मेरो चिया जित्दैन !" उनले हाँस्दै भनिन्, "तेरो चियाले मेरो स्टारबक्सलाई छुन्न !" कुरा गहिरो हुँदै गयो । उनले अमेरिकाको एक्लोपन सुनाइन्, मैले यहाँको रमझम सुनाएँ । इन्टरनेट काटिँदा रिस उठ्थ्यो, तर फेरि जोडिएपछि हाँसोले कोठा रंगिन्थ्यो।
त्यो डेटको रमाइलो पल तब आयो, जब उनले सरप्राइज दिइन् । स्क्रिनमा कागज देखाउँदै लेखिन्, "म तिमीलाई माया गर्छु, फर्केर आउँदा बौलाहा नबन्नू है !" म लजाएँ । हतार-हतार कागजमा "म पनि माया गर्छु, चाँडै आऊ" लेखेर देखाएँ । त्यो रात हामी घन्टौँ कुरा गर्यौँ, हाँस्यौँ, र स्क्रिनमा हात जोडेर "गुडनाइट" भन्यौँ। तर, त्यो डेटपछि कुरा बिस्तारै फेरियो । सायनाको पढाइ र जागिरको व्यस्तता, मेरो यहाँको नयाँ जीवन—हाम्रो कुराकानी पातलियो। स्काइपमा कुरा गर्दा पहिलेजस्तो रमाइलो हुन छोड्यो। एक दिन, स्काइपमै उनले भनिन्, "हाम्रो बाटो फरक भइसक्यो । मलाई लाग्छ, अब हामीले आ-आफ्नो बाटो हिँड्नुपर्छ।" मेरो मन भत्भतियो, तर उनको आँखामा पनि आँसु देखेँ । हामीले अन्तिम पटक स्क्रिनमा हात हल्लायौँ, र स्काइप बन्द भयो। त्यो हाम्रो अन्तिम कुरा थियो ।
स्काइपले हामीलाई जोड्यो, तर समय र परिस्थितिले हामीलाई छुट्यायो। अब स्काइप बन्द हुँदैछ भन्ने सुन्दा ती मैनबत्तीको उज्यालो र "म तिमीलाई माया गर्छु" लेखिएको कागज सम्झेर मन बिझाउँछ । "

सागरराज केसी

सागरराज केसी

"मलाई याद छ २००९ तिर साइबर क्याफे जान्थ्यौं, हामी त सर्फिङ गर्न जान्थ्यौं, तर विदेशमा बस्ने दाजुभाइहरू घरका परिवारसँग घन्टौँ कुरा गर्नु हुन्थ्यो । चिठीको मद्दतले खबर आदानप्रदान गर्ने जमाना पनि देखेको थिएँ । स्काइपले त्यो जमाना चिर्दै टाढा रहेका आफन्तलाई आँखा अगाडि ल्यायो । घण्टाको ९० रुपैयाँसम्म तिरेका छौं कम्प्युटर अगाडि बस्न । तर के दिन थिए ती ! "

राज श्रेष्ठ

राज श्रेष्ठ

"२००२ मा बिछोड भएको साथी स्काइपमार्फत भेट भएको थियो । यो घटना २०१२ तिरको हो । त्यस समयपछि हामी अझै पनि निरन्तर छौं, थ्यांक्स स्काइप ।"

विशेष पराजुली

विशेष पराजुली

"कोरोनापछि मैले वैदेशिक रोजगारको रूपमा स्पेनको क्रूज शिपको लागि अन्तर्वार्ता दिएर सफल भएँ र आजसम्म त्यहाँ काम गरिरहेको छु । अवसरको सही सदुपयोग भएको एक एप्स हो ।"

रमेश खड्का

रमेश खड्का

"यही स्काइपको माध्यमबाट अनलाइन जागिरको अन्तर्वार्ता दिएर हाल युरोपतिर गधा जस्तो काम गर्दैछु ! मिस यु स्काइप !"

यम गर्बुजा

यम गर्बुजा

"२००९ देखि २०१० सम्म धेरै च्याट गरियो, अडियो कल गरियो ती अपरिचित व्यक्तिहरूसँग । स्काइप भनेपछि त्यो दिनको बडो याद आइरहन्छ । "

श्याम थीङ तामाङ

श्याम थीङ तामाङ

"७२ सालको भूकम्पको बेला स्काइपले फ्रीमा नम्बरमा कल गर्ने सुविधा दिएको थियो । जतिबेला म विदेशमा थिए र सहजै परिवारसँग जोडिन पाए, धेरै खुशी भएको थिएँ । तर आज कम्पनी नै बन्द हुँदैछ भन्ने सुन्दा नरमाइलो लाग्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामी समयसँगै परिवर्तन हुन सक्नु पर्छ, सकेनौं भने यसरी नै सबैको अस्तित्व मेट्दै जान्छ ।"

पूर्णबाबु श्रेष्ठ

पूर्णबाबु श्रेष्ठ

"स्काइपबाट अननोन कल गर्न पनि मिल्थ्यो । साथीहरूलाई नो नम्बरबाट कल पनि गरियो, झुक्याइयो पनि । "

अर्जुन नेपाल

अर्जुन नेपाल

"साथीहरूले 'ओइ, स्काइप गर् त' भन्थे, धेरै चलेको थियो त्यतिबेला... अब हार्दिक श्रद्धाञ्जली भन्ने त होला त्यसलाई।"

राजेन महर्जन

राजेन महर्जन

"साइबरमा एक आमाले स्काइपको पासवर्ड र आईडी लिएर साइबरको मान्छेलाई भने, 'छोरासँग कुरा गर्नु पर्छ' भन्दै सानो कागज लिएर आउनुहुन्थ्यो ।"

धनु बिस्ट

धनु बिस्ट

"जब स्काइपको जमाना थियो, त्यस्तै सन् २०११/१२ तिर होला - दैनिक १०/१२ ओटा जति एफएम र अनलाइन रेडियोमा स्काइप कल गरिन्थ्यो । सबैभन्दा बढी भने नेपाल११ रेडियोमा इन्टरटेनर राजुसँग कुरा गरिन्थ्यो । सोही रेडियोमा कुराकानी गर्ने क्रममा चर्चित सेलिब्रेटीहरू सँग पनि सिधै कुराकानी गर्न सकिने व्यवस्था थियो । अहिलेका चर्चित राप्रपा नेता रविन्द्र मिश्रसँग उहाँको पत्रकारिताको चरम सफलता र परोपकार पत्रकारिताको बारेमा मेरा थुप्रै जिज्ञासा राखेको थिएँ । त्यतिखेरसम्म रविन्द्रजी गतिलो मान्छे हुनुहुन्थ्यो । पछि आएर उहाँ मान्छेबाट स्खलित भएर नेता हुनुभयो । त्यस्तै अस्ट्रेलियाबाट प्रसारण हुने नेपाली सञ्चार रेडियोमा पनि प्रमोद के सोनी जी सँग दैनिक स्काइप कुराकानी गरिन्थ्यो ।
यो सिलसिला डेढ वर्ष जति रह्यो । त्यही कार्यक्रमबाट विभिन्न देशमा रहेका थुप्रै नेपाली भाषी साथीहरूसँग पनि चिनजान भएको थियो । रेडियो अडियोले पनि परदेशी श्रोतासँग जोडिन स्काइप कल लिने गरी 'यो मन त मेरो नेपाली हो' नामको कार्यक्रम चलायो। २०१५ सम्म आइपुग्दा मेरो स्काइपमा ५००+ साथीहरू जोडिनुभएको थियो । २०१७ पछि मैले मोबाइलमा स्काइप नै डाउनलोड गरिनँ । त्यो बेलाको आईडी पासवर्ड पनि बिर्सिएँ । हुँदाहुँदै त्यो बेलाको लोकप्रिय स्काइप अब सदाका लागि बन्द हुने भएछ । तैपनि स्काइपलाई मैले चैँ बिर्सन सक्दिनँ ।"

लोकेश साउद

लोकेश साउद

"१३/१४ वर्ष पहिला टेलिभिजनमा लाइभ गरिएकाे थियाे, पहिलाेचाेटि आफ्नाे अनुहार टेलिभिजनमा देखिँदा दङ्ग परेकाे क्षण थियाे त्याे ।"

राम गुरुङ

राम गुरुङ

"एमएसएन मेसेन्जर, याहु मेसेन्जर पछि मैले प्रयोग गरेको भिडिओ च्याट एप्लिकेसन स्काइप थियो । एक समय निकै लोकप्रिय यो एप्लिकेसन विभिन्न संघसंस्थाले समेत व्यावसायिक प्रयोजनका लागि साथै रिमोट अन्तर्वार्ताका लागि समेत प्रयोग हुन्थ्यो । जुम, माइक्रोसफ्ट टिम्स, गुगल मिट जस्ता एप्लिकेसन आउनुअघि भिडिओ कन्फरेन्स र स्क्रिन शेयरका लागि यही स्काइप व्यापक रूपमा प्रयोग हुन्थ्यो ।"

मिन थुलाङ राई

मिन थुलाङ राई

"Yahoo, Hi5 अनि Skype चलाउन त्यतिबेला साइबर निकै धाइन्थ्यो। धेरै मज्जा आउँथ्यो।"

विकास तिवारी

विकास तिवारी

"म विदेशमा हुँदा यो मन त मेरो नेपाली हो कार्यक्रममा कल गरिन्थ्यो स्काइपमा।"

विकास कटवाल

विकास कटवाल

"स्काइपबाट हामी सबैले पक्कै पनि जागिरको लागि अन्तर्वार्ता दिएको होलाजस्तो छ है। मलाई त्यसो सम्झाउनु पर्दैन, तर वास्तविकता भनेको यो हो कि स्काइपको काम भनेको भिडिओ कल हो, त्यो बेलामा… "

इतिहासको पानामा स्काइप

माइक्रोसफ्टले यसको बन्द हुने घोषणा गर्दै एक ब्लग पोस्टमा भनेको छ, “स्काइपले आधुनिक सञ्चारलाई आकार दिन र अनगिन्ती अर्थपूर्ण क्षणलाई समर्थन गर्न अभिन्न भूमिका खेलेको छ ।”

एओएल इन्स्ट्यान्ट मेसेन्जर र फ्रेन्डस्टर जस्ता प्रारम्भिक इन्टरनेटका अन्य प्रतीक जस्तै स्काइप पनि इतिहास बन्नुअघि, टेकपानासँग पाठकले यस सेवाबारे आफ्ना यादगार पलहरू शेयर गरेका छन् ।

© २०२५ टेकपाना सर्वाधिकार सुरक्षित

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १८:२८