close

आईफोन १८ प्रोमा अन्डर-डिस्प्ले फेस आईडी, नच हट्ने !

टेकपाना टेकपाना

बैशाख २३, २०८२ १४:४९

आईफोन १८ प्रोमा अन्डर-डिस्प्ले फेस आईडी, नच हट्ने !

काठमाडौँ । एप्पलले अर्को वर्ष ल्याउने आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा अन्डर-डिस्प्ले फेस आईडी प्रयोग गर्ने तयारी गरेको छ । हालै बाहिरिएको एक सूचनाअनुसार एप्पलले प्रो मोडेलहरूमा यस्तो प्रविधि परीक्षण गर्न थालिसकेको छ ।

२०२६ को सेप्टेम्बरमा बजारमा आउने अनुमान गरिएका यी मोडेलहरूमा सेल्फी क्यामेराका लागि मात्र सानो होल-पञ्च रहने र अघिल्ला पुस्ताको नच (कालो भाग) हट्ने बताइएको छ ।

यदि यो प्रविधि परीक्षण सफल भएमा एप्पलले फेस आईडीजस्तो थ्रीडी फेसियल स्क्यानिङ प्रविधि डिस्प्लेभित्रै लुकाउनेछ । यसले स्मार्टफोनको अगाडिको भाग थप आकर्षक र सफा देखिनेछ ।

यस्तै प्रविधि एन्ड्रोइड फोनहरूमा केही वर्षदेखि नै देखिँदै आएको थियो । तर एन्ड्रोइड फोनले थ्रीडी स्क्यानिङको साटो केवल क्यामेरामार्फत अनुहार चिन्न प्रयोग गरिरहेका छन्, जुन तुलनात्मक रूपमा कम सुरक्षित मानिन्छ ।

एप्पलले प्रविधिको परीक्षण गरिरहेको खबर बाहिरिएसँगै आईफोन पारखी उत्साहित बनेका छन् । यदि यो प्रविधि लागु भयो भने प्रयोगकर्ताले नच नदेखिने डिजाइन र एप्पलको सुरक्षित फेस अनलक दुबै सुविधा एकैसाथ पाउनेछन् ।

आईफोन १८ र आईफोन १८ एयर भने अहिलेकै पुरानो नच डिजाइनमा आउने अनुमान छ । यस्तै, एप्पलले पहिलो पटक ल्याउन लागेको फोल्डेबल आईफोनमा पनि अन्डर-डिस्प्ले फेस आईडीको परीक्षण भइरहेको खबर बाहिरिएको छ ।

-जीएसएमएरेना

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १४:५९