काठमाडौँ । अश्लील डिपफेक सामग्री सार्वजनिक गर्दै आएको बदनामी वेबसाइट मिस्टरडिपफेक्स (MrDeepFakes) बन्द भएको छ । वेबसाइटको मुख्य पेजमा राखिएको एक सन्देश अनुसार मुख्य सेवा प्रदायकले सेवा बन्द गरिदिएपछि वेबसाइट सञ्चालन गर्न असम्भव भएको हो ।
वेबसाइटको होमपेजमा राखिएको सूचनामा भनिएको छ, “एक महत्त्वपूर्ण सेवा प्रदायकले स्थायी रूपमा सेवा समाप्त गरेको छ । डेटा हराएका कारण सञ्चालन जारी राख्न असम्भव भएको छ ।”
उक्त पेजमा थप भनिएको छ, “हामी फेरि सुरु गर्ने छैनौं । यस्तो दाबी गर्ने कुनै पनि वेबसाइट नक्कली हो । यो डोमेन केही समयपछि एक्स्पायर हुनेछ र भविष्यमा यसको प्रयोगको लागि हामी जिम्मेवार हुने छैनौं ।” यो सन्देश एक हप्तामा हटाइने पनि बताइएको छ ।
यो वेबसाइट प्रयोगकर्ताहरूलाई सहमति बिना डिजिटल रूपमा परिवर्तन गरिएका स्पष्ट यौन सामग्री अपलोड गर्न अनुमति दिने कारणले कुख्यात थियो । यसमा विशेषगरी सेलिब्रेटीहरूका नक्कली भिडिओहरू हुन्थे । तर सामान्य व्यक्तिहरूको तस्बिर दुरुपयोग भएका धेरै घटनाहरू पनि थिए ।
स्ट्यानफोर्ड विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका अनुसन्धानकर्ताहरूले गरेको सन् २०२४ को एक अध्ययन अनुसार यी डिपफेक भिडिओहरू बनाउनुको उद्देश्य यौन सन्तुष्टि, साथै लक्षित व्यक्तिहरूको अपमान र मानहानि गर्नु थियो ।
अनुसन्धान पत्रमा भनिएको छ, “नोभेम्बर २०२३ सम्म मिस्टरडिपफेक्सले ३,८०० व्यक्तिहरूलाई चित्रण गर्ने ४३ हजार यौन डिपफेक भिडिओहरू होस्ट गरेको थियो । यी भिडिओहरू १.५ अर्बभन्दा बढी पटक हेरिएको छ ।”
ती भिडिओहरू मध्ये ९५.३% लक्षित व्यक्तिहरू महिला सेलिब्रेटीहरू थिए ।
यस्ता समस्याको समाधानका लागि अमेरिकी संघीय सरकार सक्रिय हुँदै गएको छ । गत साता अमेरिकी प्रतिनिधिसभाले ‘Take it Down Act’ पारित गर्यो, जसले डिपफेकमार्फत तयार गरिएका अवाञ्छित यौनजन्य सामग्री सार्वजनिक गर्नेमाथि कडा कारबाही र जरिवाना लागु गर्ने व्यवस्था गरेको छ ।
यो विधेयक यसअघि नै सिनेटबाट पारित भइसकेको छ भने राष्ट्रपति ट्रम्पको हस्ताक्षरको प्रतीक्षामा रहेको छ ।