काठमाडौँ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा अबदेखि नयाँ पाठ्यक्रम लागु गरिने भएको छ ।
लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स इन इंग्ल्याण्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।
आइक्यानका अनुसार प्राविधिक ज्ञानको अवधारणा अनुरूप तयार पारिएको पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिनेछ ।
यस पाठ्यक्रम लेखाव्यवसायको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ अकाउन्ट्स (आईएफएएसी) बाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आईएफएस)मा आधारित छ ।
यसअन्तर्गत लेखा क्षेत्रका महत्त्वपूर्ण पक्षहरू संहिता, दीगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायतका विषयवस्तु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको आइक्यानको भनाइ छ ।
नयाँ पाठ्यक्रमले देशलाई आवश्यक दक्ष लेखाव्यवसायी उत्पादन गर्न सघाउनुका साथै संस्थाका सदस्यहरूको अन्तर्राष्ट्रिय पहिचान र प्रतिस्पर्धी क्षमता बढाउने अपेक्षा गरिएको छ ।