काठमाडौँ । किरण मण्डलको घर नजिकै खुल्ला नाला छ । बच्चाहरूले खानेकुरा खाएर प्याकेटहरू फाल्दा कहिलेकाँही नाला जाम भएर दुर्गन्ध फैलिन्छ । पर्साको वीरगञ्ज महानगरपालिका-११ घर भएका उनले मोबाइलमा ‘सफा नेपाल’ को एप खोलिन् । एपमार्फत उनले नालामा भएको फोहोरको फोटो खिच्दै महानगरलाई गुनासो गरिन् ।
उनी भन्छिन्, “मैले बिहान १० बजेतिर कम्प्लेन गरेको थिएँ । गुनासो गरेको ठेगाना ठीक हो कि होइन भनेर बुझ्न महानगरबाट कल आयो । त्यसपछि दिउँसो १२ बजेतिर सफाइकर्मीहरू आएर फोहोर सङ्कलन गर्नुभयो ।”
वडा नं १४ का स्थानीय दिनेशप्रसाद चौहान पहिलाभन्दा वीरगञ्ज निकै सफा र सुन्दर रहेको बताउँछन् । उनी बस्ने राधामाई टोलमा धेरै दिनदेखि फोहोर थुप्रिएको थियो । उनले भने, “महानगरमा पटक-पटक फोन गर्दा पनि फोहोर उठेको थिएन । एपमा फोटो खिचेर राखेको दुई दिनमै फोहोर उठ्यो ।”
यस्तै भित्री टोलोहरूमा अनुगमन टोली नपुग्दा फोहोरको समस्या अझै समाधान गर्न नसकिने उनले बताए । उनले भने, “यसको समाधान एप नै हुनसक्छ ।”
अर्का नागरिक सन्दिप कुमार सराफले स्थानीयले फोहोर जथाभावी फालेमा महानगर आएर जरिवाना गर्ने गरेको सुनाए । “जथाभावी फोहोर नफालेर ट्र्याक्टर आएको बेलामा फाल्ने वा डम्पिङ साइटमा लगेर पुर्नुपर्छ भनेर सिको पनि मिलेको छ ।”
वीरगञ्ज महानगरपालिकाले ‘सफा नेपाल’ नामको एपको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले एपमार्फत सङ्कलित रियल-टाइम डेटा प्रयोग गरी फोहोर जलाउने, जथाभावी फोहोर फाल्ने तथा गाड्ने, खुला शौच, फोहोर पानी भरिएका नाली जस्ता समस्याहरूलाई समाधान गर्दै आएको छ ।
टाढाटाढाबाट महानगरसम्म आएर स्थानीयले गुनासो तथा उजुरी दिन सकिरहेका हुँदैनन् । तर यो एपले गर्दा तत्कालै उजुरी टिपाउन र त्यसको आधारमा सरसफाइ तथा कारबाही अगाडि बढाउन नागरिक र स्थानीय तहबिच पुलको काम गरिरहेको छ ।
कसैले फोहोर फालेको देखेमा स्थानीयले एपमा अपलोड गर्न सक्ने वीरगञ्ज महानगरपालिकाका फोहोरमैला व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँ बताउँछन् । उनी भन्छन्, “त्यसपछि यो डेटा हाम्रो कम्प्युटरमा आउँछ । कम्प्युटर अपरेटरले जानकारी दिएपछि त्यहाँ गएर फोहोरको सरसफाइ गर्छौँ ।”
यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एसिया फाउण्डेशन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजनामार्फत यो सेवा उपलब्ध गराइएको हो । नागरिक आफैँ सचेत भएर पालिकालाई जवाफदेही बनाउने माध्यमका रुपमा यो एप सञ्चालन गरेको प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापितले बताए । उनी भन्छन्, “फोहोर देखेर गुनासो गर्दा त्यसको जवाफ सम्बन्धित निकायले दिन सकेन भने गुनासो गर्नुको मतलब नै हुँदैन । ‘सफा नेपाल’ नागरिक र स्थानीय तहलाई नै जवाफदेही बनाउने एप हो ।”
क्लिन अप नेपाल संस्थाले यो एप व्यवस्थापनको काम गरिरहेको छ । विगत १० वर्षभन्दा लामो समयदेखि सरसफाइ क्षेत्रमा क्रियाशील यस संस्थाले सन् २०२२ मा सफा नेपाल एप सञ्चालनमा ल्याएको हो ।
नेपालमा फोहोरमैलाको समस्या बढेको र यही समस्या समाधानका लागि एप सञ्चालनमा रहेको क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले बताए । उनले भने, “जथाभावी फोहोर फाल्ने, आगो बाल्ने जस्ता काम भइरहेका हुन्छन् । यस्ता समस्या देखेमा गुनासो गर्न कि त नागरिक कि त पालिकामा लिएर जानुपर्छ । घर अगाडि कति र कहिले फोहोरको गाडी आउँछ पनि थाहा हुँदैन । यी सबैको जानकारी सफा एपले दिन्छ ।”
यस एपले स्थानीय तह, फोहोर व्यवस्थापन सेवा प्रदायक र नागरिकलाई एकै ठाउँमा ल्याउने गरेको उनले बताए । यस एपले गाउँ, टोल सहर अनि देशलाई नै सफा राख्न सघाउने उनको विश्वास छ ।
सफा नेपाल एपमार्फत नागरिकले आफ्नो वरपर भएको फोहोरको तस्बिर र लोकेसनसहित स्थानीय तहलाई रिपोर्ट गर्न सक्छन् । आफ्नो रिपोर्ट स्थानीय तहसम्म पुगे/ नपुगेको कुरा आफ्नै ईमेल वा एपमार्फत ट्रयाक गर्ने सुविधा पनि यो एपमा छ ।