काठमाडौँ । स्मार्टफोन आजको दिनमा अत्यावश्यक भइसकेको छ । ग्राहकको आवश्यकता अनुसार सबै बजेट अनि फिचर राखेर हरेक हप्ता कुनै न कुनै नयाँ स्मार्टफोन सार्वजनिक भइरहेको छ ।
यस्तोमा यदि तपाईं बजेट फोनको खोजीमा हुनुहुन्छ र कुन फोन आफ्नो आवश्यकताका लागि उपयुक्त हुन्छ भन्ने सोचमा हुनुहुन्छ भने हामीले यहाँ बजारमा उपलब्ध २० हजार रुपैयाँमा नै आउने बजेट फोनहरूको विषयमा उल्लेख गरेका छौँ:
रेड्मी १४सी
झट्ट हेर्दा आकर्षक देखिने यो फोनलाई पावर प्याक फोन भन्न सकिन्छ । हेर्दा चिटिक्क मात्र हैन, यसलाई कम्पनीले बजेट अनुरुपको उत्कृष्ट फोन बनाउने पूरा प्रयास गरेको छ । फोनमा मिडियाटेक हेलियो जी८५ अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । यस्तै, यसमा रेड्मीको आफ्नै हाइपर ओएस प्रयोग गरिएको छ ।
६.८८ इन्चको एचडी प्लस डिस्प्लेसँगै आएको यो फोनमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ । फोनमा डुअल क्यामेरा सेटअप छ, जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने अगाडि १३ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
यो फोनको अर्को विशेषता भनेको स्टोरेज पनि हो । यसमा ८ जीबी र्याम दिइएको छ, जसलाई भर्चुअल रूपमा थप ८ जीबीसम्म बढाउन सकिन्छ । इन्टर्नल स्टोरेज भने २५६ जीबीको रहेको छ ।
फोनमा ५,१६० एमएएच ब्याट्री दिइएको छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा रेड्मी १४C को सुरुवाती भेरियन्ट ४/१२८ जीबीको मूल्य १३ हजार ९०० रुपैयाँ तोकिएको छ ।
ओप्पो एथ्री एक्स
हामीसँग भएको अर्को फोन हो ओप्पो एथ्री एक्स, जसलाई अन्य फोनको तुलनामा बलियो मान्न सकिन्छ । १४ हजार ५०० रुपैयाँ मूल्य तोकिएको यो फोनमा मिलिट्री ग्रेड शक रेसिस्टेन्ट प्रयोग गरिएको छ, जसले फोनलाई बलियो बनाएको छ ।
६.६७ इन्चको एचडी प्लस डिस्प्लेसँगै आएको यो फोनको डिजाइन र रंग पनि उत्तिकै आकर्षक देखिन्छ । यसमा एक हजार निट्सको ब्राइटनेस पाउन सकिन्छ । क्यामेराको कुरा गर्ने हो भने, यो फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ६ जेन १ चिपसेट प्रयोग गरिएको छ । ४/६४ र ४/१२८ जीबी भेरियन्टमा पाइने यो फोनमा ५,१०० एमएएचको ब्याट्री दिइएको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।
यतिको बजेट रेन्जमा धेरै फिचर, बलियो र भरपर्दो फोन खोज्दै हुनुहुन्छ भने ओप्पो एथ्री एक्स लाई अवश्य पनि मौका दिन सक्नुहुन्छ ।
सामसङ एम१४ फोरजी
सामसङ पनि एउटा यस्तो कम्पनी हो, जसले आफ्ना सबै प्रकारका ग्राहकलाई लक्षित गरी स्मार्टफोन ल्याएको छ । बजेट प्रयोगकर्ताका लागि भनेर कम्पनीले ल्याएको सस्तो फोन हो सामसङ एम१४ फोरजी ।
धेरैजसो सामसङ प्रयोगकर्ताले सामसङलाई नै निरन्तरता दिने गरेको देखिन्छ । त्यसका लागि सामसङको M सिरिज अन्तर्गतको यो बजेट फोन उपयुक्त हुन सक्छ । यो एक वर्ष अगाडि सार्वजनिक भएको फोन भए पनि अझै बजेट सेग्मेन्टमा यसलाई उत्कृष्ट मान्न सकिन्छ ।
आकर्षक देखिने यो फोनको बिल्ड क्वालिटी पनि राम्रो नै छ । फोनमा ९० हर्जको ६.७ इन्चको फुल एचडी प्लस डिस्प्ले छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा सामसङको One UI प्रयोग गरिएको छ । प्रोसेसर भने क्वालकमको स्न्यापड्रागन ६८० प्रयोग गरिएको छ ।
क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । स्टोरेजतर्फ दुईवटा विकल्प छन्: ४/६४ जीबी र ६/१२८ जीबी । उपलब्ध र्यामलाई तपाईंले भर्चुअल रूपमा १२ जीबीसम्म बढाउन सक्नुहुन्छ ।
ब्याट्री भने ५००० एमएएचको दिइएको छ, जसले २५ वाटको चार्जर सपोर्ट गर्छ । नेपाली बजारमा यो फोनको सुरुवाती मूल्य १६ हजार ९०० रुपैयाँ रहेको छ ।
भिभो वाई१९एस
२० हजारभन्दा कम बजेटको अर्को राम्रो फोन हो भिभो Y19s । कम बजेट भए पनि झट्ट हेर्दा फोन प्रिमियम देखिन्छ । ६.६८ इन्चको ९० हर्जको आईपीएस एलसीडी डिस्प्लेसँगै आएको यो फोनको डिस्प्लेको पिक ब्राइटनेस १००० निट्स रहेको छ ।
कम्पनीले फोनलाई एन्टी ड्रप डिजाइन गरेको दाबी गरेको छ भने एजीएस फाइभ लेभल स्टारको प्रमाणीकरण र मिलिट्री ग्रेड प्रमाणीकरण पनि यो फोनले पाएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा भिभोको आफ्नै फनटच ओएस १४ प्रयोग गरिएको छ । यस्तै, यसमा युनिसक टी६१२ प्रोसेसर प्रयोग गरिएको छ भने फोनमा ५,१५० एमएएच क्षमताको ब्याट्री छ ।
स्टोरेजतर्फ यो फोन दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ: ४/१२८ जीबी र ६/१२८ जीबी । फोनको सुरुवाती मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ ।
बेन्को भी९२
बजारमा बजेट ब्रान्डको रूपमा परिचित बेन्कोको फोन पनि तपाईंको लागि विकल्प हुन सक्छ- विशेषगरी बेन्को भी९२ । बजेट फोन भए पनि कम्पनीले यसमा लेदर फिनिस दिएको छ, जसले गर्दा यो फोन बोक्दा नै प्रिमियम महसुस हुन्छ ।
सामान्यतः बजेट फोनहरूमा लेदरको फिनिसिङ पाइँदैन — यसमा भने बेन्को अगाडि छ । फोनमा छ ६.७२ इन्चको फुल एचडी प्लस डिस्प्ले, ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ५० मेगापिक्सेलको रियर क्यामेरा ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा युनिसक टी६०६ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ६ जीबीको र्याम दिइएको छ । यसलाई थप गरेर १२ जीबीसम्म बनाउन सकिन्छ भने स्टोरेजका लागि २५६ जीबी छ ।
१८ वाट चार्जिङको साथमा ५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।