काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ स्मार्टफोन ‘१५एस प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक आफ्नै चिपसेट ‘एक्सरिङ ओ-वन’ प्रयोग गर्दै यो फोन बिहीबार सार्वजनिक गरेको हो ।
फोनमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७३ इन्चको टुके ओएलईडी एलटीपीओ डिस्प्ले दिइएको छ । यसमा एल्युमिनियम फ्रेम प्रयोग गरिएको छ ।
साओमी १५एस प्रो मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ५० मेगापिक्सेलकै फाइभ एक्स टेलिफोटो क्यामेरा जडान गरिएको छ । सबै क्यामेरामा लाइका सुमिल्क्स लेन्स प्रयोग गरिएको कम्पनीले जनाएको छ । साथै, तस्वीरको गुणस्तर उत्कृष्ट बनाउनका लागि ‘एक्सरिङ ओ-वन आईएसपी भी४’ इमेजिङ प्रोसेसर समावेश गरिएको छ ।
पछाडिको क्यामेराले एटके (8K) २४ एफपीएस, फोरके ३०/६० एफपीएस र १०८०पिक्सेलमा ९६० एफपीएस सम्मको भिडिओ खिच्न सक्ने दाबी कम्पनीले गरेको छ । फ्रन्टमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ, जसले फोरके ६० एफपीएस भिडिओ रेकर्ड गर्न सक्छ ।
यस स्मार्टफोनमा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर, ६१०० एमएएच क्षमताको ब्याट्री र ९० वाट वायर्ड तथा ५० वाट वायरलेस चार्जिङ सुविधा छ ।
फोनमा १६ जीबी र्याम दिइएको छ भने ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा दुई ओटा सिम प्रयोग गर्न सकिन्छ । साथै, एन्ड्रोइड १५ र हाइपर ओएस २.० अपरेटिङ सिस्टम समावेश गरिएको छ ।
अडियो पक्षमा फोनमा स्टेरियो स्पिकर, डल्बी एट्मस सपोर्ट र चार ओटा माइक्रोफोन छन् । यसले आईपी ६८ रेटिङ पाएकोले पानी र धुलोबाट सुरक्षित रहने बताइएको छ । फोनले ब्लुटुथ ५.४, वाईफाई ७ (८०२.११), डुअल फोरजी भीओएलटीई र एनएफसी जस्ता फिचरहरू सपोर्ट गर्छ ।
यस फोनको सुरुवाती मूल्य ५,४९९ चिनियाँ युआन (झन्डै एक लाख पाँच हजार नेपाली रुपैयाँ) तोकिएको छ । यो फोन बिहीबारदेखि चिनियाँ बजारमा उपलब्ध भइसके पनि विश्वबजारमा कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले जानकारी दिएको छैन ।