काठमाडौँ । एप्पलले पछिल्ला वर्षहरूमा परम्परागत बजारबाहेक नयाँ क्षेत्रहरूमा समेत पाइला अघि बढाउँदै आएको छ । अटोमोटिभ उद्योगमा प्रवेश प्रयासपछि अब एप्पल स्मार्ट होम बजारमा पनि छिर्ने तयारीमा रहेको छ ।
ब्लुमबर्गका चर्चित पत्रकार मार्क गर्म्यानको पछिल्लो रिपोर्टअनुसार एप्पलले सन् २०२५ को अन्त्य वा २०२६ को सुरुमा विभिन्न स्मार्ट होम उपकरण सार्वजनिक गर्ने योजना बनाएको छ । अघिल्लो प्रयासमा ल्याइएको होमपड र होमपड मिनीले अपेक्षित सफलता नपाएपछि एप्पलले यसपटक थप तयारीसहित स्मार्ट होम उपकरण भित्र्याउन लागेको हो ।
रिपोर्टअनुसार एप्पलले ल्याउन लागेको नयाँ उपकरणमध्ये एउटा ट्याबलेट (आईप्याड) जस्तै देखिने डिभाइस हो । यसमा रोबोटिक आर्म (robotic arm) रहनेछ । यद्यपि, उक्त डिभाइसको उद्देश्यबारे विस्तृत जानकारी दिइएको छैन ।
यसबाहेक कम्पनीले सोही क्याटेगरीमा पर्ने, तर रोबोटिक आर्म नभएको कम मूल्यको मोडेल पनि विकास गरिरहेको छ । ‘J490’ कोडनेम दिइएको यो डिभाइस यसै वर्षको अन्त्यमा सार्वजनिक हुनसक्ने छ । तर, सिरीसँग सम्बन्धित समस्या समाधान भएपछि मात्र यो सार्वजनिक हुने बताइएको छ ।