काठमाडौँ । क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर गर्दै १ जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेजमा ग्राहकले पब्लिक आईपी एड्रेस, लेभल टू सपोर्ट र वाई-फाई सिक्स राउटर निःशुल्क पाउनेछन् ।
विशेषगरी होस्टेल, स्कुल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटल लगायत धेरै प्रयोगकर्ता रहने व्यवसायहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
साना स्पिडको इन्टरनेटमा धेरै प्रयोगकर्ता एकैपटक जोडिँदा स्पिड कम हुने तथा नेटवर्कमा कन्जेस्टन आउने भएकाले त्यसको समाधान स्वरूप १ जीबीपीएस इन्टरप्राइज प्रो प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले यो प्याकेजका लागि वार्षिक शुल्क ९९ हजार ९९९ रुपैयाँ तोकेकोमा अहिले अफर घोषणा गरेको छ । यसअन्तर्गत प्रतिमहिना सात हजार २९९ रुपैयाँमा यो प्याकेज चलाउन सकिनेछ ।
यसका साथै क्लासिक टेकले ५०० एमबीपीएसको इन्टरप्राइज प्रो प्याकेज पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सेवा हाल काठमाडौंसहित देशका प्रमुख सहरहरूमा उपलब्ध छ ।