close

गृहमन्त्री लेखकको प्रश्न- ‘सामाजिक सञ्जाल र मिडियामा कुरा उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने ?’

टेकपाना टेकपाना

जेठ १४, २०८२ १७:४२

गृहमन्त्री लेखकको प्रश्न- ‘सामाजिक सञ्जाल र मिडियामा कुरा उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने ?’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जाल वा सञ्चार माध्यममा आलोचना भयो भन्दैमा तुरुन्तै राजीनामा दिनुपर्ने कुरा औचित्यहीन भएको बताएका छन् । भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपसहित विपक्षीले संसदमा बोल्न नदिएपछि सोमबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा माग गलत रहेको तर्क गरे ।

“सामाजिक सञ्जाल र सञ्चार माध्यममा कुरा उठ्नेबित्तिकै राजीनामा दिनुपर्ने अवस्था आयो भने के होला ?” उनले भने, “कुनै पनि विषय उठ्न सक्छ । तर त्यसलाई ठीक ढंगले गम्भीर रूपमा लिएर निष्कर्षमा पुग्नुपर्छ ।”

उनले आफूविरुद्ध नियोजित रूपमा राजनीतिक पूर्वाग्रहसहित आक्रमण भइरहेको दाबी गर्दै यसलाई षड्यन्त्रपूर्ण भने । साथै, उनले आफ्नो राजनीतिक तथा व्यक्तिगत जीवन खुला रहेको भन्दै सार्वजनिक रूपमा आफूलाई सबैले नियालिरहेको उल्लेख गरे ।

गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनलाई जिम्मेवार ठहर्‍याउने स्वरहरू बलियो बन्दै गएका बेला उनले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे ।

कुनै कर्मचारीमाथि अख्तियारले छानबिन थालेकै भरमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको बताउँदै उनले भने, “अख्तियारले उनीहरूमाथि छानबिन गर्छ र आवश्यक परे मुद्दा दायर गर्छ । तर कर्मचारीमाथि छानबिन हुँदैमा कति मन्त्रीहरूले राजीनामा दिनुभएको छ ? तपाईंहरू आफैँले विवेचना गर्नुहोस् ।”

७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा ‘अघोषित मानव तस्करी’ भइरहेको खुलासा भएको थियो ।

अख्तियारको अनुसन्धानले गृहमन्त्री लेखकका निजी सचिवालयका कर्मचारीहरूसँग पनि भट्टराईको नियमित सम्पर्क देखाएको भन्दै गृहमन्त्री समेत संलग्न हुनसक्ने टिप्पणी भइरहेको छ । यसपछि सञ्जालका सक्रिय प्रयोगकर्ताहरूले गृहमन्त्री लेखकको नैतिकतामाथि प्रश्न उठाउँदै राजीनामा माग गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १८:२९