close

सञ्चित नाफा गर्नेमा नेपाल टेलिकम सबैभन्दा अगाडि, १५ सरकारी संस्थान अझै घाटामा

टेकपाना टेकपाना

जेठ १५, २०८२ १५:१७

सञ्चित नाफा गर्नेमा नेपाल टेलिकम सबैभन्दा अगाडि, १५ सरकारी संस्थान अझै घाटामा

काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये धेरै सञ्चित नाफा कमाउने नेपाल टेलिकम पहिलो स्थानमा देखिएको छ । बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८२ अनुसार नेपाल टेलिकम ४८ अर्ब तीन करोड २९ लाख रुपैयाँ सञ्चित नाफासहित सार्वजनिक संस्थानहरूमध्ये अग्रपंक्तिमा रहेको छ । 

प्रतिवेदनले समग्र सार्वजनिक संस्थानको सञ्चित नाफामा ४१.०३ प्रतिशतको उल्लेखनीय वृद्धि देखाउँदा कुल खुद नाफामा १२.८८ प्रतिशतले गिरावट आएको तथ्य प्रस्तुत गरेको छ । ४५ मध्ये १५ ओटा संस्थान अझै घाटामा सञ्चालित रहेको प्रतिवेदनमा उल्लेख छ ।  

सबैभन्दा बढी सञ्चित नाफा भएको सार्वजनिक संस्थान नेपाल टेलिकमको पनि खुद नाफामा भने गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड एक लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को ७ अर्ब ९२ करोड दुई लाख रुपैयाँको तुलनामा २१.३४ प्रतिशतले कम हो । यो गिरावटले सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा आएको कमीमा ठुलो भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । 

समग्रमा, सार्वजनिक संस्थानहरूको कुल सञ्चित नाफा आर्थिक वर्ष २०७९/८० को ६५ अर्ब ७४ करोड ८२ लाख रुपैयाँबाट ४१.०३ प्रतिशतले बढेर २०८०/८१ मा ९२ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रले ९४ अर्ब ७० करोड ८३ लाख रुपैयाँको सर्वाधिक सञ्चित नाफा हासिल गरेको छ, जसमा नेपाल टेलिकम जस्ता संस्थाहरूको योगदान प्रमुख रहेको छ । यसको विपरीत औद्योगिक क्षेत्र २१ अर्ब ७० करोड ७७ लाख रुपैयाँको सर्वाधिक सञ्चित नोक्सानीसहित सबैभन्दा बढी वित्तीय भार बोकिरहेको प्रतिवेदनमा उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ९:२०