लाइडर प्रविधिबाट नक्सा पास गरिने, नियन्त्रण विन्दु स्याटलाइटमा आधारित हुने
जेठ १५, २०८२ १६:५
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि लाइडर प्रविधिबाट नक्सा तयार गरी पास गर्ने भएको छ भने नाप नक्सालाई व्यवस्थित गर्न स्याटलाइट प्रविधिमा आधारित राष्ट्रिय नियन्त्रण विन्दुहरूको सञ्जाललाई सुदृढ गरिने भएको छ ।
बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।
“स्थानीय तहमार्फत भूउपयोग क्षेत्र वर्गीकरण गरी भूउपयोग योजना तर्जुमा गरिनेछ,” बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने, “लाइडर प्रविधिबाट गरिने नाप–नक्सा कार्यलाई विस्तार गरिनेछ ।”
उनले लाइडर सर्भेबाट प्राप्त तथ्यांकलाई पूर्वाधार विकास आयोजनाहरूको सम्भाव्यता अध्ययन तथा डिजाइनमा समेत प्रयोग गरिने उल्लेख गरे ।
“लाइडर सर्भेको तथ्यांकलाई पूर्वाधार निर्माण आयोजनाको सम्भाव्यता अध्ययन तथा डिजाइन प्रयोजनका लागि समेत प्रयोग गरिनेछ,” अर्थमन्त्री पौडेलले भने, “नाप–नक्सा व्यवस्थित गर्न स्याटलाइट प्रविधिमा आधारित राष्ट्रिय नियन्त्रण विन्दुहरूको सञ्जाल सुदृढ गरिनेछ ।”
यसका साथै भूमिसुधार, मालपोत र नापी कार्यालयका सम्पूर्ण अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि सरकारको रहेको छ ।
“भूमिसुधार, मालपोत तथा नापी कार्यालयका अभिलेखलाई डिजिटाइज गरिनेछ । भू–सूचना प्रणालीलाई स्तरोन्नति गरी सबै कार्यालयमा विस्तार गरिनेछ,” बजेटमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १६:८
