काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय नोटप्याड एपमा नयाँ फिचर थप गरेको छ । विन्डोज ११ को क्यानरी र डेभ च्यानलका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको नयाँ अपडेटमार्फत नोटप्याडमा बोल्ड, इटालिक, हाइपरलिङ्क तथा मार्कडाउन सपोर्ट थपिएको छ ।
नयाँ फिचर अनुसार अब नोटप्याड एपको माथिल्लो भागमा ‘फरम्याटिङ टुलबार’ देखिनेछ । यसले प्रयोगकर्तालाई विभिन्न टेक्स्ट शैलीहरू जस्तै; बोल्ड, इटालिक, लिस्ट र हेडिङहरू प्रयोग गर्न मिल्ने बनाउँछ ।
माइक्रोसफ्ट विन्डोज इनबक्स एप्सका प्रमुख प्रडक्ट म्यानेजर डेभ ग्रोकोकीका अनुसार पछिल्लो अपडेटले ‘मार्कडाउन’ शैलीको इनपुट तथा फाइललाई पनि सपोर्ट गर्छ । प्रयोगकर्ताले ‘मार्कडाउन’ को फरम्याटेड भ्यू र सिन्ट्याक्स भ्यूबिच स्विच गर्नसक्ने सुविधा पनि प्रदान गरिएको छ ।
प्रयोगकर्ताले साधारण टेक्स्ट प्रयोग गर्न चाहेमा टुलबार वा एडिट मेनुबाट सम्पूर्ण फरम्याटिङ हटाउन सकिने सुविधा पनि राखिएको छ । साथै, यो फिचरलाई पूर्णरूपमा बन्द गर्न पनि मिल्नेछ ।
गत साता मात्रै माइक्रोसफ्टले नोटप्याडमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर ‘राइट’ (Write) नामक फिचर टेस्ट गर्न थालेको थियो । यसले प्रयोगकर्ताको निर्देशनअनुसार छिटो ड्राफ्ट तयार पार्न सक्छ । नयाँ फरम्याटिङ फिचरहरूसँगै नोटप्याड अझै परिष्कृत बनेको देखिएको छ ।
नोटप्याडमा दशकौँसम्म खासै परिवर्तन नगरेको माइक्रोसफ्टले हालै वर्डप्याडलाई हटाउने निर्णय गरेसँगै क्रमिक रूपमा नयाँ फिचरहरू थप्दै आएको छ ।