काठमाडौँ । टिकटकले आफ्नो 'फर यु' (For You) पेजमा प्रयोगकर्ताहरूलाई थप नियन्त्रण दिनका लागि नयाँ फिचर ल्याएको छ । कम्पनीले यसका लागि 'म्यानेज टपिक्स' (Manage Topics) र एआई-आधारित किवर्ड फिल्टर (AI-powered Keyword Filters) नामक नयाँ फिचर ल्याएको हो ।
जसले प्रयोगकर्तालाई आफ्नो फिडमा देखिने सामग्रीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सघाउ पुर्याउने छन् । टिकटकको 'म्यानेज टपिक्स' फिचरमार्फत तपाईँले शीर्ष १० क्याटेगोरीमा विभाजन गरिएका कन्टेन्ट मध्ये आफ्नो 'फर यु' फिडमा कुन कत्तिको देखापर्ने बनाउने भनेर कस्टमाइज गर्न सक्नु हुनेछ । जसलाई रचनात्मक कला, डान्स, फेसन तथा ब्युटी, फुड एन्ड ड्रिङ्स, हेल्थ एन्ड फिटनेस, ह्युमर, लाइफस्टाइल, नेचर, पेट्स, स्पोर्ट् र ट्राभलसँग सम्बन्धित कन्टेन्टको रूपमा वर्गीकरण गरिएको छ ।
यो सुविधा गत वर्ष अमेरिकामा परीक्षण गरिएपछि अहिले विश्वव्यापी रूपमा लागु गरिएको टिकटकले जनाएको छ । कम्पनीका अनुसार यी सेटिङले विषयवस्तुहरूलाई पूर्ण रूपमा हटाउने छैनन् । यद्यपि प्रयोगकर्ताको रुचि परिवर्तन हुँदै जाँदा तिनीहरू कति पटक सिफारिस हुन्छन् भन्ने कुरामा प्रभाव पर्न सक्छ । सेटिङ मिलाएपछि, परिवर्तनहरू लागु हुन केही समय लाग्न सक्ने टिकटकले बताएको छ । यो सुविधाले तपाईँको 'फर यु' फिडमा देखिने भिडिओहरूलाई मात्र असर गर्नेछ ।
कसरी प्रयोग गर्ने 'म्यानेज टपिक्स' ?
यो सुविधा प्रयोग गर्नका लागि तपाईँ आफ्नो टिकटकको सेटिङहरूमार्फत Content preferences हुँदै Manage topics मा जानुपर्ने हुन्छ । यस बाहेक तपाईँ आफ्नो 'फर यु' फिडमा देखिएको कुनै पनि पोस्टको शेयर बटनमा ट्याप गरेर Why this video मा गएर Adjust your For You मार्फत Manage Topics मा जान सक्नुहुन्छ । त्यहाँबाट, तपाईँले प्रत्येक विषयवस्तु मुनि रहेको स्लाइडरलाई दायाँ/बायाँ सार्न सक्नुहुन्छ । जसले तपाईँ त्यस्ता भिओयोहरू कत्तिको हेर्न चाहनुहुन्छ भनेर सङ्केत गर्छ । सेटिङ मिलाएर Save मा ट्याप गर्नुपर्ने हुन्छ ।