काठमाडौँ । मोबाइलमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या विश्वभर तीव्र रूपमा बढेको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार विश्वव्यापी वेब ट्राफिकको ६४.१ प्रतिशत हिस्सा स्मार्टफोनबाट हुने गरेको छ । यो दर अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
सन् २०२३ को दोस्रो त्रैमासदेखि स्मार्टफोनमार्फत वेब ब्राउजिङ गर्ने प्रवृत्ति लगातार बढ्दो छ । सन् २०२५ को दोस्रो त्रैमाससम्म आइपुग्दा मोबाइल वेब ट्राफिक लगातार आठ त्रैमाससम्म बढेको देखिएको हो । जुन २०१६ पछिकै लामो समयसम्मको वृद्धि हो ।
मोबाइल नेटवर्कको उच्च गति, सस्तो स्मार्टफोनको उपलब्धता र डिजिटल सेवा पहुँचमा आएको सहजताका कारण यो परिवर्तन आएको विश्लेषण गरिएको छ । समाचार, किनमेल, मनोरञ्जनदेखि अध्ययनसम्मको काम मोबाइलबाटै हुने प्रवृत्तिले वेब ट्राफिकको केन्द्रबिन्दु स्मार्टफोन बन्न पुगेको हो ।
क्षेत्रगत रूपमा एसिया अग्रपंक्तिमा रहेको देखिएको छ । एसियामा कुल वेब ट्राफिकको ७१.३ प्रतिशत हिस्सा मोबाइल डिभाइसबाट हुने गरेको छ । अमेरिका र युरोपमा भने यो दर करिब ५० प्रतिशतको हाराहारीमा रहेको छ ।
मोबाइल वेब ट्राफिकमा एन्ड्रोइडको दबदबा अझै कायम छ । पछिल्लो तथ्यांकअनुसार मोबाइल वेब ट्राफिकको ७२.७ प्रतिशत हिस्सा एन्ड्रोइडबाट र २६.९ प्रतिशत आईओएसबाट हुने गरेको छ ।