काठमाडौँ । सत्तारूढ दुई ठुला दल नेपाली काँग्रेस र एमाले निकट पत्रकारहरूका सङ्गठनले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग गरेका छन् । बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन र प्रेस चौतारीले सम्बद्ध पक्षसँग यस्तो आग्रह गरेका हुन् ।
काँग्रेस निकट प्रेस युनियनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी भएको घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको उल्लेख गरेको छ । “समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपाल जान सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई नियमन गर्ने कानुन अनुसार नभई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पत्रकारलाई मुद्दा चलाउने कार्य घोर आपत्तिजनक छ,” विज्ञप्तिमा प्रेस युनियनले भनेको छ । त्रुटिहरूलाई सच्याउन र स्वतन्त्र प्रेसको मूल्य, मान्यतालाई आत्मसाथ गर्न युनियनले सबै पक्षलाई आग्रह समेत गरेको छ ।
त्यस्तै नेपालको संविधानमै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरिएको उल्लेख गर्दै एमाले निकट प्रेस चौतारीले पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको छ । “प्रकाशित वा प्रसारित सामग्रीमा असन्तुष्टि वा विवाद उत्पन्न भएको अवस्थामा त्यसको प्रारम्भिक निरूपण र मूल्याङ्कन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ,” विज्ञप्तिमा भनिएको छ ।