close

एप्पलको नयाँ नियम: अब बालबालिकाले नयाँ नम्बरमा कुरा गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने

टेकपाना टेकपाना

जेठ २९, २०८२ ११:९

एप्पलको नयाँ नियम: अब बालबालिकाले नयाँ नम्बरमा कुरा गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने

काठमाडौँ  । एप्पलले बालबालिकाका लागि थप कडा सुरक्षा व्यवस्था ल्याउने भएको छ । नयाँ अपडेट आईओएस २६ (iOS 26), आईप्याडओएस २६ (iPadOS 26), म्याकओएस २६ (macOS Tahoe 26), वाचओएस २६ (watchOS 26), टिभीओएस २६ (tvOS 26) र भिजन ओएस२६ (visionOS 26) मा आउने सुविधाअनुसार अब १३ वर्षभन्दा कम उमेरका बालबालिकाले नयाँ व्यक्तिसँग कुरा (सञ्चार) गर्नुअघि अभिभावकको स्वीकृति लिनुपर्नेछ ।

सञ्चार सीमित गर्ने प्रणाली विस्तार गर्दै एप्पलले बालबालिकाले नयाँ नम्बरसँग कुरा गर्न अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था लागु गरेको हो । यसअनुसार अभिभावकले मेसेज (Messages) एपबाट सहजै स्वीकृति वा अस्वीकृति दिन सक्नेछन् ।

यो सुविधा डेभलपर्सका लागि ‘PermissionKit’ मार्फत अन्य एपहरूमा पनि समावेश गर्न सकिनेछ । जसले बालबालिकालाई साथी बन्ने वा फलो गर्नुअघि अभिभावकको अनुमति लिन बाध्य बनाउने विश्लेषण गरिएको छ ।

एप्पलले प्यारेन्टल कन्ट्रोल (parental controls) फिचर अन्तर्गत पहिल्यैदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि वेब फिल्टर, एप प्रतिबन्धलगायत सुविधा दिँदै आएको छ । अब १३ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीका लागि पनि उमेर अनुसारको सुरक्षा लागु गरिने एप्पलले जनाएको छ ।

त्यस्तै, एप्पलले मेसेज तथा फोटो एपमा नग्नता देखिएमा ‘ब्लर’ गर्ने सुविधा थप्दैछ । फेसटाइममा पनि यस्ता अश्लील सामग्री देखिएमा स्वचालित रूपमा चेतावनी दिइने कम्पनीले उल्लेख गरेको छ । साथै, एप स्टोरको एज रेटिङ  (age ratings ) प्रणालीलाई पनि विस्तार गर्दै १३+, १६+ र १८+ वर्गमा छुट्याइने भएको छ ।

अब एप डेभलपरहरूले प्रयोगकर्ताको वास्तविक जन्ममिति नलिइकन उमेर समूह मात्र थाहा पाउने सुविधा पनि एप्पलले दिन लागेको छ । यसका लागि ‘Declared Age Range API’ ल्याउने तयारी गरिएको छ ।

यता, मेटा, स्न्याप, एक्स लगायत केही कम्पनीहरूले प्रयोगकर्ताको उमेर प्रमाणित गर्न कानुनी व्यवस्था गर्नुपर्ने माग गरिरहेका छन् । यस्तै कानुन अमेरिकाका युटा र टेक्सास राज्यले पारित गरिसकेका छन् । तर, एप्पलले गोपनीयताको कारण देखाउँदै यस्तो कानुनी व्यवस्थाको विपक्षमा आवाज उठाउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ११:२५