close

पोखरा विमान दुर्घटनाअघि यात्रुले खिचेको भिडिओ एयर इन्डियाको भन्दै भारतमा भाइरल

टेकपाना टेकपाना

जेठ ३१, २०८२ ९:७

पोखरा विमान दुर्घटनाअघि यात्रुले खिचेको भिडिओ एयर इन्डियाको भन्दै भारतमा भाइरल

काठमाडौँ । १ माघ २०७९ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको एक भाइरल भिडिओलाई हाल भारतीय सामाजिक सञ्जालमा एयर इन्डियाको दुर्घटना भन्दै भ्रामक रूपमा प्रचार गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ शेयर गर्दै गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाको फेसबुक लाइभ भिडिओ भएको दाबी गरिरहेका छन् । 

विमान दुर्घटना हुनुभन्दा ३० सेकेन्ड अघि भिडिओ एयर इन्डिया १७१ कल साइन भएको बोइङ ७८७-८ ड्रिमलाइनर विमानमा सवार यात्रुले खिचेको दाबी गरिएको छ । वास्तवमा यो दाबी पूर्णतया असत्य हो । सामाजिक सञ्जालमा फैलिएको उक्त भिडिओ १ माघ २०७९ मा पोखरामा भएको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनाको हो । टेकपानाले दुर्घटनाको भोलिपल्ट् अर्थात २ माघ २०७९ मै उक्त भाइरल भिडिओको तथ्यजाँच गरेको थियो । 

उक्त भिडिओ विमानमा सवार भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा लाइभ गरेका थिए, जसमा अवतरणको केही समयअघि विमान खस्नुअघिका अन्तिम क्षणहरू कैद भएका थिए । विमान जमिनको नजिक आइपुगेकाले मोबाइलमा इन्टरनेट चल्न सम्भव भएको र सोही कारण फेसबुक लाइभ हुन सकेको विज्ञहरूले बताएका थिए । उक्त दुःखद दुर्घटनामा चालक दलका सदस्यसहित कूल ७२ जना सवार थिए ।

यी भाइरल पोस्टलाई लिएर भारतीय सञ्चारमाध्यम तथा तथ्य-जाँच गर्ने निकायले समेत यो भिडिओ नेपालको विमान दुर्घटनाको भएको पुष्टि गरिसकेका छन् । भारतको पीटीआई, इन्डिया टुडे, सीएनबीसी टिभी १८ ले तथ्यजाँच सामग्री नै राखेका छन् । भारतमा भएको विमान दुर्घटनालाई लिएर सयौं भ्रामक तथा मिथ्या पोस्टहरू फैलिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ १०:४४