close

एआई सर्च इन्जिन ‘पर्प्लेक्सिटी’ खरिद गर्ने दौडमा एप्पल, १४ अर्ब डलरको सम्झौता हुनसक्ने

टेकपाना टेकपाना

असार ७, २०८२ १६:५

एआई सर्च इन्जिन ‘पर्प्लेक्सिटी’ खरिद गर्ने दौडमा एप्पल, १४ अर्ब डलरको सम्झौता हुनसक्ने

काठमाडौँ । एप्पलले पछिल्लो समय चर्चामा आएको एआई सर्च इन्जिन ‘पर्प्लेक्सिटी एआई’ (Perplexity AI) खरिद गर्नेबारे आन्तरिक छलफल सुरु गरेको छ । एप्पलका गतिविधिबारे सटीक जानकारी दिने विश्लेषक मार्क गर्म्यानले कम्पनीको आन्तरिक स्रोतलाई उद्धृत गर्दै यो खुलासा गरेका हुन् ।

ब्लुमबर्गमा प्रकाशित उनको समाचारका अनुसार एप्पल र पर्प्लेक्सिटीबिचको छलफल अहिले प्रारम्भिक चरणमा छ । एप्पलको मर्जर एन्ड एक्विजिसन डिपार्टमेन्टका प्रमुख र एआई विभागका वरिष्ठ कार्यकारीहरूले यस प्रक्रियाको नेतृत्व गरिरहेका छन् । छलफल सुरुवाती अवस्थामै रहेकाले दुई कम्पनीबिच सम्झौता हुने वा नहुने भन्नेबारे टुङ्गो नलागिसकेको गर्म्यानले उल्लेख गरेका छन् ।

यता, पर्प्लेक्सिटीका एक प्रवक्ताले भने यस विषयमा कुनै पनि वर्तमान वा भविष्यको छलफलबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

यदि एप्पलले पर्प्लेक्सिटी खरिद गर्ने निर्णय गरेमा उसले विभिन्न चुनौती सामना गर्नुपर्ने देखिन्छ । पहिलो, पर्प्लेक्सिटीको हालको बजार मूल्यांकन १४ अर्ब अमेरिकी डलर छ । यदि खरिद सम्झौता भएमा एप्पलको इतिहासकै सबैभन्दा ठुलो लगानी हुनेछ ।

त्यसैगरी, पर्प्लेक्सिटी एआई हाल सामसङसँग मिलेर आफ्ना केही फिचर सामसङको इकोसिस्टममा इन्टिग्रेट गर्ने विषयमा गम्भीर वार्ता गरिरहेको अवस्थामा छ । यस्तो सन्दर्भमा एप्पलको सम्भावित अधिग्रहण प्रक्रियामा जटिलता आउन सक्ने विश्लेषण गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:२९