नेपालको घाम पावर कम्पनीलाई अन्तर्राष्ट्रिय जलवायु पुरस्कार, पायो ७० लाख नगद
असार ९, २०८२ १३:४९
काठमाडौँ । जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रभावशाली समाधानलाई सम्मानस्वरूप प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार किलिङ कर्भ पुरस्कार २०२५ (Keeling Curve Prize 2025) मा नेपाली कम्पनी घाम पावर विजेता बनेको छ । ऊर्जाका क्षेत्रमा घाम पावर विश्वभरबाट छानिएका १० उत्कृष्ट परियोजनामध्ये एक बन्न सफल भएको हो ।
यो पुरस्कार केन्याको नेरोबीमा हालै आयोजित टीईडी काउन्टडाउन समिटमा घोषणा गरिएको हो । सो अवसरमा जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न अग्रपङ्तिमा रहेका विश्वभरका नवप्रवर्तनकर्ता र लिडरहरू भेला भएका थिए ।
पुरस्कारस्वरूप घाम पावरले ५० हजार अमेरिकी डलर (करिब ७० लाख रुपैयाँ) प्राप्त गरेको छ । यो रकम नेपालका दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रहरूमा स्वच्छ, भरपर्दो र सुलभ सौर्य ऊर्जाका परियोजना विस्तारमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
"विश्वभरका २५ सयभन्दा बढी आवेदनमध्येबाट घाम पावर छानिनुको कारण यसको नवीन मोडेल हो," कम्पनीले भनेको छ, "हामीले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग एकीकृत गर्दै स्वच्छ ऊर्जा पहुँचलाई अझ व्यापक बनाउँदै का छौँ । हालसम्म चार हजारभन्दा बढी सफल परियोजना सम्पन्न भइसकेको छ ।"
सौर्य ऊर्जामार्फत घाम पावरले ग्रामीण बस्तीहरूमा घर, व्यवसाय, कृषि प्रणाली, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४१
