close

एसईईपछि आईटीमा भविष्य: कुन कोर्स रोज्ने, कस्ता छन् अवसर ?

टेकपाना टेकपाना

असार १४, २०८२ २१:४

एसईईपछि आईटीमा भविष्य: कुन कोर्स रोज्ने, कस्ता छन् अवसर ?

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै लाखौं विद्यार्थी र अभिभावकहरू भविष्यको शैक्षिक यात्राबारे निर्णय लिने प्रक्रियामा छन् । सूचना प्रविधिको बढ्दो महत्त्व र रोजगारीका अवसरका कारण धेरैको रोजाइमा यससँग सम्बन्धित विषयमा चासो देखिन्छ ।

यस्तोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सञ्चालन गर्ने १८ महिने टीएसएलसी कोर्स र तीन वर्षे ‘डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ सँगै राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ वा ‘ए-लेभल’ विकल्प छन् ।

सीटीईभीटीको १८ महिने टीएसएलसी कोर्स

यदि कुनै विद्यार्थी छिटोभन्दा छिटो प्राविधिक सीप सिकेर रोजगारीमा प्रवेश गर्न चाहन्छ भने सीटीईभीटीले सञ्चालन गर्ने १८ महिने ‘टेक्निकल स्कुल लिभिङ सर्टिफिकेट (टीएसएलसी) इन कम्प्युटर इन्जिनियरिङ’ एक उत्तम विकल्प हो ।

एसईई परीक्षा दिएका र कुनै पनि ग्रेड वा जीपीए ल्याएका विद्यार्थीले यो कोर्स पढ्न सक्नेछन् । यो कार्यक्रममा एक वर्ष सैद्धान्तिक र प्रयोगात्मक कक्षा तथा ६ महिनाको अनिवार्य ‘अन द जब ट्रेनिङ’ (OJT) समावेश हुन्छ ।

पाठ्यक्रमको कुरा गर्दा यसमा फन्डामेन्टल अफ इन्फरमेसन टेक्नोलोजी, ग्राफिक एन्ड वेब डेभलपमेन्ट, डेटाबेस म्यानेजमेन्ट, कम्प्युटर प्रोग्रामिङ, हार्डवेयर एन्ड नेटवर्किङ जस्ता विषय पढाइन्छ ।

यो कोर्स पूरा गरेपछि विद्यार्थीले राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) वा चौथो तह सरहको ‘जुनियर कम्प्युटर टेक्निसियन’ पदका लागि योग्यता हासिल गर्छन् । उनीहरूले आईटी उद्योग, सरकारी तथा गैरसरकारी संस्थाहरूमा काम गर्न सक्छन् ।

डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ

सीटीईभीटीको ‘डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ विशेषगरी उद्योग र बजारको मागअनुसार मध्यम-स्तरका प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ डिजाइन गरिएको हो । एसईईपछि नै आईटी क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीका लागि यो पाठ्यक्रमले सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्छ ।

सीटीईभीटीको पाठ्यक्रमअनुसार, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न विद्यार्थीले एसईई वा सो सरहको परीक्षामा गणित र विज्ञानमा न्यूनतम ‘सी’ ग्रेड तथा अंग्रेजीमा न्यूनतम १.६ जीपीए ल्याएको हुनुपर्छ । 

के-के हुन्छ पढाइ ?

यो तीनवर्षे ६-सेमेस्टरमा आधारित पाठ्यक्रमले कम्प्युटर विज्ञानका आधारभूतदेखि विशिष्टिकृत विषयसम्म समेट्छ ।

  • पहिलो वर्ष: विद्यार्थीहरूलाई आधारभूत विज्ञानका विषयहरू जस्तै; भौतिकशास्त्र, रसायनशास्त्र र गणितका साथै नेपाली, अंग्रेजी, इन्जिनियरिङ ड्रइङ र कम्प्युटर एप्लिकेसनजस्ता परिचयात्मक विषय पढाइन्छ । यसले प्राविधिक शिक्षाको लागि बलियो जग बसाल्छ ।

  • दोस्रो वर्ष: यस वर्ष कम्प्युटर इन्जिनियरिङका मुख्य विषयहरूमा केन्द्रित रहन्छ । जसमा सी प्रोग्रामिङ, वेब टेक्नोलोजी, डेटाबेस म्यानेजमेन्ट सिस्टम, डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम, ‘अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ इन जाभा’ र माइक्रोप्रोसेसर जस्ता विषय छन् ।

  • तेस्रो वर्ष: अन्तिम वर्षमा विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), इन्फरमेसन सेक्युरिटी, कम्प्युटर ग्राफिक्स, नेटवर्किङ र कम्प्युटर मर्मतसम्भार जस्ता विषय पढाइन्छ । साथै, विद्यार्थीहरूले ‘माइनर’ र ‘मेजर’ प्रोजेक्टहरू गर्नुपर्ने हुन्छ, जसले उनीहरूलाई वास्तविक समस्या समाधान गर्ने व्यावहारिक अनुभव प्रदान गर्छ ।

यो पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरू नेपाल सरकारको राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) वा पाँचौँ तह सरहको पदका लागि योग्य हुन्छन् । उनीहरूले सरकारी तथा निजी दुवै क्षेत्रका आईटी उद्योग, बैंक, व्यावसायिक संस्थाहरूमा सफ्टवेयर डेभलपर, नेटवर्क एडमिनिस्ट्रेटर, डेटाबेस म्यानेजर र आईटी प्राविधिक जस्ता पदहरूमा काम गर्न सक्छन् । थप शैक्षिक अध्ययन गर्न चाहने विद्यार्थी विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन सक्छन् ।

डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी (आईटी)

सीटीईभीटीकै तीन वर्षे 'डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी' (आईटी) कार्यक्रम एसईईपछि सूचना प्रविधिको सफ्टवेयर, नेटवर्क र डेटा-केन्द्रित क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि एक विशेष र व्यावहारिक पाठ्यक्रम हो । यो कार्यक्रमले कम्प्युटर इन्जिनियरिङको तुलनामा हार्डवेयरभन्दा बढी सफ्टवेयर डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षाजस्ता आधुनिक र बजारमा उच्च माग भएका विषयहरूमा जोड दिन्छ । 

यसअन्तर्गत पहिलो वर्षमा विद्यार्थीहरूलाई अन्य इन्जिनियरिङ डिप्लोमा सरह नै भौतिकशास्त्र, रसायनशास्त्र, गणित र अंग्रेजी जस्ता आधारभूत विषयहरू पढाइन्छ । दोस्रो वर्षदेखि पाठ्यक्रम पूर्ण रूपमा आईटीका मुख्य विषयहरूमा केन्द्रित हुन्छ । एकातिर 'सी प्रोग्रामिङ', 'डेटा स्ट्रक्चर तथा एल्गोरिदम' र 'अब्जेक्ट-ओरिएन्टेड प्रोग्रामिङ इन जाभा' जस्ता विषयले सफ्टवेयर विकासको आधार तयार पार्छन् भने, अर्कोतिर 'वेब टेक्नोलोजी', 'डेटाबेस म्यानेजमेन्ट सिस्टम', 'पीसी ट्रबलसुटिङ एन्ड मेन्टिनेन्स' जस्ता विषयले विद्यार्थीहरूलाई तत्कालै प्रयोगमा आउने व्यावहारिक सीप सिकाउँछन् ।

तेस्रो वर्षको पाठ्यक्रम आजको विश्वव्यापी बजारको मागअनुसार तयार पारिएको छ । यसमा क्लाउड कम्प्युटिङ, सफ्टवेयर डेभलपमेन्ट, साइबर सेक्युरिटी, इन्टरनेट अफ थिङ्स (आईओटी), मोबाइल एप्लिकेसन डेभलपमेन्ट, नेटवर्क एन्ड सिस्टम एडमिनिस्ट्रेसन जस्ता ऐच्छिक (Elective) विषयहरू राखिएका छन् । साथै, तेस्रो वर्षमा 'माइनर' र 'मेजर' प्रोजेक्टहरू अनिवार्य गरिएको छ । यी प्रोजेक्टले विद्यार्थीहरूलाई समूहमा काम गर्ने, वास्तविक समस्या पहिचान गर्ने र त्यसको प्राविधिक समाधान निकाल्नेजस्ता अनुभव प्रदान गर्नेछन् ।

यो पाठ्यक्रम पूरा गरेपछि नेपाल सरकारको राजपत्र अनङ्कित प्रथम श्रेणी वा पाँचौँ तह सरहको प्राविधिक पदका लागि योग्यता हासिल गरिन्छ । साथै सफ्टवेयर डेभलपर, वेब डेभलपर, डेटाबेस एडमिनिस्ट्रेटर, नेटवर्क एडमिनिस्ट्रेटर, साइबर सुरक्षा विश्लेषक जस्ता विभिन्न पदहरूमा रोजगारीका अवसरहरू उपलब्ध हुन्छन् । थप शैक्षिक अध्ययन गर्न चाहनेहरू विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन सक्छन् ।

कक्षा ११-१२ मा आईटीको जग

तत्काल प्राविधिक शिक्षामा नगई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्न चाहनेहरूका लागि पनि आईटीतर्फको आधार बनाउने अवसर छ।

यसअन्तर्गत कक्षा ११ र १२ मा ‘कम्प्युटर विज्ञान’लाई ऐच्छिक विषयका रूपमा रोज्न सकिन्छ । यसले प्रोग्रामिङ, डेटाबेस, र नेटवर्किङजस्ता आधारभूत अवधारणाहरू सिकाउँछ । जसले स्नातक तहमा आईटी अध्ययनका लागि बलियो जग तयार पार्छ ।

अहिले स्नातक तहमा आएका विभिन्न आईटी कोर्सले प्लस टु मा कम्प्युटर विज्ञान अनिवार्य भनेका छैनन् । तैपनि भविष्यमा आईटी नै रोज्ने निश्चित छ भने अहिल्यै कम्प्युटर विज्ञान विषय लिँदा सहज हुन्छ ।

‘ए लेभल’ मा आईटी

क्याम्ब्रिज विश्वविद्यालयको ‘ए लेभल’ पाठ्यक्रममा पनि 'कम्प्युटर साइन्स' (Computer Science 9618) विषय उपलब्ध छ । यो पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएकाले यसमा सैद्धान्तिक ज्ञानका साथै समस्या समाधान र प्रोग्रामिङमा विशेष जोड दिइन्छ । ए लेभलमा कम्प्युटर साइन्स पढ्दा विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा स्नातक तहमा भर्ना पाउन पनि सहज हुन्छ ।

माथिका जुनसुकै शैक्षिक कार्यक्रममा भर्ना भएपनि विद्यार्थीले खाली समयमा ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, डिजिटल मार्केटिङ र आधारभूत प्रोग्रामिङ जस्ता छोटो अवधिका आईटी तालिमहरू लिन सक्छन् ।

अर्कोतर्फ सफ्टवेयर र वेब डेभलपमेन्टमा रुचि भएकाले एचटीएमएल, सीएसएस, जाभा र सी++ जस्ता आधारभूत प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् । यसले भविष्यमा आईटी अध्ययनका लागि सहज बनाउँछ ।

त्यस्तै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मको बढ्दो प्रयोगसँगै सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) जस्ता डिजिटल मार्केटिङका सीपहरू पनि उपयोगी हुन्छन् । अर्कोतर्फ कम्प्युटर रिपेयर (मर्मत)को तालिम लिएर हार्डवेयर प्राविधिकका रूपमा पनि करिअर सुरु गर्न सकिन्छ, जसको बजारमा अहिले राम्रो माग छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५३