close

ड्राइभर बिनै फ्याक्ट्रीबाट ग्राहकको घरसम्म यसरी पुग्यो टेस्ला कार

टेकपाना टेकपाना

असार १७, २०८२ ७:४

ड्राइभर बिनै फ्याक्ट्रीबाट ग्राहकको घरसम्म यसरी पुग्यो टेस्ला कार

काठमाडौँ । विद्युतीय कार निर्माता टेस्लाले स्वचालित (सेल्फ-ड्राइभिङ) प्रविधिमा एक ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले पहिलो पटक अमेरिकाको टेक्सासस्थित आफ्नो फ्याक्ट्रीबाट चालक बिना नै कार सिधै ग्राहकको घरसम्म डेलिभरी गरेको हो ।

केही हप्ताअघि मात्र टेस्लाले टेक्सासको अस्टिनमा आम मानिसलाई चालकविहीन ट्याक्सी (रोबोट्याक्सी) को अनुभव लिन आमन्त्रण गरेको थियो । अहिले कम्पनीले फ्याक्ट्रीबाट कार डेलिभरी गरेर सबैलाई चकित पारेको छ ।

टेस्लाले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै लेखेको छ, “विश्वको पहिलो स्वचालित कार डेलिभरी !” कम्पनीले सार्वजनिक गरेको भिडिओ अनुसार ‘क्विकसिल्भर मोडल वाई’ कार फ्याक्ट्रीबाट निस्किएर राजमार्गमा गुड्दै करिब ३० मिनेटको यात्रापछि आफ्नो नयाँ मालिकको घरमा पुगेको थियो । यात्राका क्रममा कारले राजमार्ग, सहरी सडक, ट्राफिक, पैदलयात्री, ट्राफिक लाइट र चोक सफलतापूर्वक पार गरेको भिडिओमा देखिन्छ । कार घरको अगाडि रोकिएपछि ग्राहकले आफ्नो नयाँ गाडीको डेलिभरी लिएका थिए । 

यो सफलतापछि टेस्लाले ग्राहकको घरबाहिर डेलिभरी गरिएका केही तस्बिर पनि सार्वजनिक गरेको छ । कम्पनीका सीईओ एलन मस्कले पनि यो खबर शेयर गर्दै टेस्लाको एआई टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, “टेस्ला एआई टिमका सफ्टवेयर र एआई चिप डिजाइन दुवै टिमलाई बधाई !”​

टेस्लाका एआई उपाध्यक्ष अशोक इल्लुस्वामीले यात्राको विवरण शेयर गर्दै कारले राजमार्गमा ७२ माइल प्रतिघण्टा (लगभग ११६ किलोमिटर प्रतिघण्टा) को अधिकतम गतिमा गुडेको जानकारी दिए । यो ऐतिहासिक क्षणभन्दा केही महिनाअघि मात्र टेस्लाका गाडी फ्याक्ट्रीभित्रै स्वचालित रूपमा पार्किङ स्थलसम्म पुग्न थालेका थिए । सोही परीक्षणको सफलतापछि कम्पनीले सार्वजनिक सडकमा चालक वा यात्रु बिना नै कारको क्षमता देखाउन यो डेलिभरी गरेको हो ।

यो घटना टेस्लाको ‘फुल सेल्फ-ड्राइभिङ’ सफ्टवेयर प्रयोग गरेर पूर्ण स्वचालित गाडी बजारमा ल्याउने योजनाको लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ । यसले कम्पनीको एआई र सेल्फ-ड्राइभिङ कारमाथिको लगानीले सार्थकता पाउन थालेको देखाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५७