close

नेपाली स्मार्टफोन बजारमा उछाल: ४ वर्षयताकै सर्वाधिक आयात, बिक्री ४० प्रतिशतले बढ्यो

टेकपाना टेकपाना

साउन ६, २०८२ १३:५०

नेपाली स्मार्टफोन बजारमा उछाल: ४ वर्षयताकै सर्वाधिक आयात, बिक्री ४० प्रतिशतले बढ्यो

काठमाडौँ । लामो समयदेखि सुस्त रहेको नेपाली स्मार्टफोन बजारमा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८१/८२ मा पछिल्लो चार वर्षयताकै सबैभन्दा धेरै स्मार्टफोन आयात भएको छ भने बजारमा ४० प्रतिशतसम्मले बिक्री बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत आवमा कुल ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका २१ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन् । यो आयात पछिल्लो चार आर्थिक वर्षकै सर्वाधिक हो । स्मार्टफोन आयातबाट सरकारले ६ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत वर्ष स्मार्टफोनको आयात परिमाणमा करिब १९ प्रतिशतले वृद्धि भएको हो । आव २०८०/८१ मा २८ अर्ब ६६ करोड रुपैयाँका १८ लाख ३९ हजार थान स्मार्टफोन आयात भएका थिए, जसबाट सरकारले पाँच अर्ब ३३ करोड रुपैयाँ राजस्व पाएको थियो ।

विभागको तथ्यांकले बजार क्रमशः सुधार उन्मुख रहेको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँका १५ लाख ६९ हजार थान स्मार्टफोन आयात भएको थियो । तर, कोभिड महामारीपछिको समयमा अर्थात् आर्थिक वर्ष २०७८/७९ मा भने बजारले ठुलो मन्दी खेपेको थियो । उक्त वर्ष जम्मा दुई अर्ब ८२ करोड रुपैयाँका एक लाख ७६ हजार थान मात्र स्मार्टफोन आयात भएको थियो, जुन चार वर्षयताकै सबैभन्दा न्यून हो ।

यता, आयातसँगै स्मार्टफोनको बिक्रीमा पनि सुधार आएको छ । मोबाइल व्यवसायी दिनेश चुल्याद्योका अनुसार, गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा स्मार्टफोनको बिक्री ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ ।

“मोबाइल फोनको बजारमा एकदमै राम्रो सुधार भइरहेको छ,” चुल्याद्योले टेकपानासँग भने, “भन्सारको तथ्यांकले मात्र होइन, देशभरको मोबाइल बजारमा वास्तविक बिक्री पनि बढेको छ ।”

सेकेन्ड ह्यान्ड फोनको माग पनि चुलियो

नयाँ स्मार्टफोनसँगै बजारमा पुराना तथा रिफर्बिस्ड (मर्मत गरेर नयाँ जस्तै बनाइएको) फोनको व्यापार पनि निकै बढेको व्यवसायीहरू बताउँछन् । विशेषगरी एप्पलका पुराना आईफोन मोडेलहरू खरिद गर्न उपभोक्ताहरू आकर्षित देखिएका छन् ।

नेपाल मोबाइल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका चुल्याद्योका अनुसार, १० हजारदेखि ३० हजार रुपैयाँसम्ममा आईफोनका पुराना ५, ६, ७ देखि ११, १२, १३ सम्मका सेकेन्ड ह्यान्ड मोडेलहरू उपलब्ध हुँदा यसको बिक्री बढेको हो । यस्तै, सामसङका पुराना फ्ल्यागशिप मोडेलहरू किन्नेको संख्या पनि बढ्दो छ ।

गत वर्ष आईफोनको आधिकारिक आयातकर्ता जेनेरेसन नेक्स्टलेले मूल्य २२ हजार रुपैयाँसम्म घटाउँदा आधिकारिक माध्यमबाट हुने बिक्री बढेको र अवैध आयात केही हदसम्म निरुत्साहित भएको व्यवसायीहरूको भनाइ छ ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १३:५३