close

नेपाल टेलिकमको फेसबुक पोस्टमा ग्राहकका आईएमईआई नम्बर छरपस्ट, कम्पनी निर्धक्क रिप्लाई गर्दै

टेकपाना टेकपाना

साउन ८, २०८२ १५:२९

नेपाल टेलिकमको फेसबुक पोस्टमा ग्राहकका आईएमईआई नम्बर छरपस्ट, कम्पनी निर्धक्क रिप्लाई गर्दै

काठमाडौँ । नेपाल टेलिकमको फेसबुक पोस्टमा प्रयोगकर्ताहरूले खुलेआम आफ्ना डिभाइसका संवेदनशील विवरण शेयर गरेका छन् । टेलिकमले बुधबार साँझ आफ्नो फेसबुक पेजमा ई-सिमबारे जानकारी दिँदै सेवा लिनका लागि आधिकारिक प्रक्रियाबारे बताएको थियो । तर, धेरै प्रयोगकर्ताले उक्त प्रक्रिया नबुझी आफ्नो फोनमा ई-सिम चल्छ वा चल्दैन भनी सोध्दै बारकोडसहितको आईएमईआई नम्बर जस्ता अति संवेदनशील विवरण कमेन्टमा पोस्ट गरेका छन् । 

प्रयोगकर्ताको यो गल्तीमाथि टेलिकमले झनै गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको छ । ती संवेदनशील विवरण हटाउन लगाउनु वा प्रयोगकर्तालाई जोखिमबारे सचेत गराउनुको सट्टा, टेलिकमका प्रतिनिधिले ती कमेन्टहरूमा नै रिप्लाई गर्दै आएका छन् । यसले कम्पनीको आफ्नै साइबर सुरक्षा अभ्यास र प्रयोगकर्ताको डेटाप्रतिको संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ ।

एक दूरसञ्चार प्राविधिकका अनुसार आईएमईआई नम्बर सार्वजनिक गर्नु भनेको आफ्नो डिभाइसको ‘नागरिकता’ नै अरूलाई दिनु जस्तै हो । उक्त जानकारी सामाजिक सञ्जालमा सहजै उपलब्ध गराउँदा ह्याकर/स्क्यामरहरूले प्रयोगकर्ताका मोबाइल वा अन्य सेलुलर डिभाइसमा अनधिकृत पहुँच पुर्याउन सक्ने जोखिम रहेको उनले बताए ।

“आईएमइआई नम्बर सार्वजनिक गर्दा त जोकोहीले दुरुपयोग गरेर फोन हरायो भन्दै सोही नम्बर उपयोग गर्न सक्छन् । फोन वा अरू सेलुलर डिभाइस डिसेबल गर्न सक्छन् । डिभाइसको सबै सूचना कम्प्रमाइज हुन सक्छ । यो एकदमै जोखिमपूर्ण स्थिति हो,” ती प्राविधिकले भने ।

घटनाबारे जानकारी पाएपछि टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले तत्काल गल्ती सच्याउन लगाउने जफाफ दिएका छन् । “म तुरुन्तै यसलाई सच्याउन भनिहाल्छु,” प्रवक्ता मानन्धरले टेकपानालाई भने । 

अपडेट: टेलिकमले उक्त फेसबुक पोस्ट प्रयोगकर्ताका लागि कमेन्ट गर्न नमिल्ने बनाएको छ भने आईएमईआई नम्बर सहितका कमेन्ट हटाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १५:४२