कन्सर्टमा अङ्गालो बाँधेर रमाउँदै गरेको भिडिओ भाइरल भएपछि एचआर प्रमुखले पनि दिइन् राजीनामा
साउन ९, २०८२ १२:२५
काठमाडौँ । चर्चित ब्यान्ड कोल्डप्लेको कन्सर्टमा ‘किस क्याम’मा देखिएपछि विवादमा तानिएका टेक स्टार्टअप एस्ट्रोनमरका सीईओ एन्डी बायरन र एचआर प्रमुख क्रिस्टिन क्याबोट दुवैले राजीनामा दिएका छन् । सीईओ बायरनले राजीनामा दिएको केही दिनपछि कम्पनीकी एचआर प्रमुख क्याबोटले पनि कम्पनी छोडेकी हुन् ।
“क्रिस्टिन क्याबोट अब एस्ट्रोनमरमा छैनिन् । उनले राजीनामा दिएकी छिन्,” कम्पनीले सञ्चार माध्यमलाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।
यो घटना हालै बोस्टनमा आयोजित कोल्डप्लेको एक कन्सर्टमा भएको थियो । कन्सर्टको ‘किस क्याम’ले विवाहित तथा छोराछोरीका बाबु बायरन र क्याबोटलाई अङ्गालोमा बाँधिएको अवस्थामा देखाएको थियो । ठुलो स्क्रिनमा आफ्नो अनुहार देख्नेबित्तिकै उनीहरू लुकेका थिए । यो दृश्य देखेर ब्यान्डका मुख्य गायक क्रिस मार्टिनले ठट्टा गर्दै भनेका थिए, “कि उनीहरू प्रेम सम्बन्धमा छन्, कि उनीहरू धेरै लजालु छन् ।”
कन्सर्टमा उपस्थित एक व्यक्तिले खिचेको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि बायरन र क्याबोटको वास्तविक परिचय बाहिर आयो । एउटै कम्पनीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीबिचको यस्तो सम्बन्धले व्यापक चर्चा पायो । धेरैले कम्पनीको ‘वर्क कल्चर’ लाई लिएर पनि व्यापक आलोचना गरेका थिए । सीईओ बाइरन कम्पनीको बोर्ड सदस्यमा समेत थिए । भिडिओ भाइरल बनेसँगै सीईओ बाइरनलाई कम्पनीले बिदामा पठाएको थियो । तर, त्यस लगत्तै उनले राजीनामा बुझाएका थिए ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १३:२५
