close

अश्लील सामग्री फैलाएको भन्दै भारतमा उल्लु र एएलटीबालाजी सहित २५ एप तथा वेबसाइट प्रतिबन्ध

टेकपाना टेकपाना

साउन ९, २०८२ १३:५९

अश्लील सामग्री फैलाएको भन्दै भारतमा उल्लु र एएलटीबालाजी सहित २५ एप तथा वेबसाइट प्रतिबन्ध

 

काठमाडौँ । अश्लील तथा अशिष्ट सामग्रीलाई प्रोत्साहन गरेको भन्दै भारतको केन्द्र सरकारले २५ ओटा मोबाइल एप तथा वेबसाइटमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले उल्लु (Ullu), एएलटीबालाजी (ALTBalaji), बिग सट्स, देशीफ्लिक्स, बुमेक्स, नवरासा लाइट, गुलाब एप लगायतका प्लेटफर्मलाई देशभित्र नचल्ने बनाएको हो ।

मन्त्रालयले यी मोबाइल एप तथा वेबसाइटहरुमाथि तत्काल पहुँचमा प्रतिबन्ध लगाउन मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ ।

मन्त्रालयका अनुसार यी प्लेटफर्महरूले समाजमा नकारात्मक असर पार्ने खालका अश्लील, अशिष्ट र वयस्क सामग्री (एडल्ट कन्टेन्ट) लाई बढावा दिएकाले यस्तो कदम चालिएको हो ।

मन्त्रालयले यो निर्णयलाई डिजिटल प्लेटफर्महरूको नियमन गर्ने प्रयासको एक हिस्साको रूपमा प्रस्तुत गरेको छ । सूचना प्रविधि नियमहरूको उल्लङ्घन गर्ने तथा आपत्तिजनक सामग्री प्रसारण गर्ने जुनसुकै माध्यममाथि कारबाही गरिने उसले स्पष्ट पारेको छ ।

यसअघि गएको अप्रिलमा भारतको सर्वोच्च अदालतले ओभर-द-टप (ओटीटी) र सामाजिक सञ्जालहरूमा बढ्दो यौनजन्य सामग्री नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको थियो । त्यस समयमा अदालतले नेटफ्लिक्स, अमेजन प्राइम, उल्लु, एएलटीबालाजी, एक्स (तत्कालीन ट्वीटर), फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता प्रमुख प्लेटफर्महरूलाई समेत सचेत गराउँदै सूचना जारी गरेको थियो । सोही निर्देशनको कार्यान्वयन स्वरूप सरकारले आपत्तिजनक सामग्रीमाथि निगरानी बढाउँदै प्रतिबन्धात्मक कारबाही अघि बढाएको विश्लेषण गरिएको छ ।

भारतले प्रतिबन्ध लगाएका मोबाइल एप तथा वेबसाइट: 

  1. ALTT

  2. ULLU

  3. Big Shots App

  4. Desiflix

  5. Navarasa Lite

  6. Hitprime

  7. Sol Talkies

  8. Wow Entertainment

  9. Kangan App

  10. Gulab App

  11. Boomex

  12. Look Entertainment

  13. ShowX

  14. HotX VIP

  15. MoodX

  16. NeonX VIP

  17. Triflicks

  18. Mojflix

  19. Feneo

  20. Jalva App

  21. Bull App

  22. Adda TV

  23. Hulchul App

  24. Fugi

  25. ShowHit

-हिन्दुस्तान टाइम्स र टाइम्स नाउ न्युजको सहयोगमा

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १३:५९