जापानी कम्पनीले तयार पार्यो अहिलेसम्मकै ठुलो २४५ टीबी स्टोरेज क्षमताको एसएसडी
साउन १०, २०८२ ११:२६
काठमाडौँ । जापानी एसएसडी विक्रेता किओक्सिया (Kioxia) ले हालसम्मकै सबैभन्दा उच्च क्षमताको स्टोरेज डिभाइस तयार पारेको छ । कम्पनीले २४५.७६ टेराबाइट (टीबी) क्षमताको नयाँ एलसी ९ सोलिड-स्टेट ड्राइभ (एसएसडी) बनाउन सफल भएको घोषणा गरेको हो ।
यो नयाँ ड्राइभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम र हाइपरस्केल वर्कलोड जस्ता अधिकतम स्टोरेज आवश्यक पर्ने एपहरू प्रति लक्षित छ । किओक्सियाको एद्यसी ९ ड्राइभले एउटा डिभाइसमा १२,५०० ओटा फोरके गुणस्तरका चलचित्र (प्रत्येकको साइज २० जीबी मान्दा) स्टोर गर्न सक्ने क्षमता राख्छ । त्यो भनेको यसले ५२ हजार भन्दा बढी डीभीडी चलचित्रहरू भण्डारण गर्न सक्छ । कम्पनीले एउटै एनएएनडी (NAND) प्याकेजमा ८ टीबी स्टोरेज क्षमता मिलाउन सफल भएको छ, जुन आफैँमा एक रेकर्ड हो ।
यो उपलब्धि किओक्सियाको बीआईसीएस ८ २ टीबी ३ डी क्यूएलसी एनएएन्ड (BiCS8 2Tb 3D QLC NAND) मेमोरी र वेफर प्रोसेसिङ तथा एसेम्ब्ली विधिहरूको प्रयोग मार्फत सम्भव भएको हो । जहाँ ३२ ओटा मेमोरी उपकरणहरूलाई एउटै चिपमा (८ टीबी स्टोरेज स्पेस) प्याकेज गरिएको छ ।
एलसी ९ ड्राइभ विभिन्न फर्म फ्याक्टरहरूमा उपलब्ध हुनेछ, जसमा २.५-इन्च र ई ३.एल समावेश छन् । कार्यसम्पादनको सन्दर्भमा किओक्सिया एलसी ९ ले १२ जीबी/सेकेन्डसम्मको सिक्वेन्सियल रिड स्पिड र ३ जीबी/सेकेन्डसम्मको राइट स्पिड प्रदान गर्दछ ।
किओक्सियाले यी ड्राइभहरूलाई मुख्यतया ठुला हाइपरस्केल डेटा सेन्टर कम्पनीहरूलाई बिक्री गर्ने योजना बनाएको छ । जेनरेटिभ एआईको उदयले, विशेषगरी लार्ज ल्याङ्वेज मोडल (एलएलएम) लाई तालिमका लागि स्टोरेजमा अभूतपूर्व माग सिर्जना गरेको छ ।
उच्च क्षमताका एसएसडी बजारमा सोलि सलिडाइम, फिसन, ड्याप्सटर, सामसङ र सानडिस्कजस्ता कम्पनीहरू पनि प्रतिस्पर्धामा छन् । सानडिस्कले सन् २०२६ मा २५६ टीबी एसएसडी र २०२७ मा ५१२ टीबी एसएसडी सार्वजनिक गर्ने घोषणा गरेको छ । यी सबै ड्राइभहरू हाइपरस्केलर र इन्टरप्राइज बजारका लागि लक्षित छन् ।
तथापि, उपभोक्ता बजारका लागि भने ८ टीबी एसएसडी नै हालको सबैभन्दा ठुलो क्षमता हो । र यसमा तत्काल कुनै परिवर्तन आउने सम्भावना कम देखिन्छ ।
किओक्सिया एलसी ९ सिरिज केही निश्चित साझेदारहरूलाई नमुनाको रूपमा उपलब्ध गराइएको छ । यसलाई अगस्ट २०२५ मा हुने 'फ्युचर अफ मेमोरी एन्ड स्टोरेज' सम्मेलनमा औपचारिक रूपमा प्रदर्शन गरिनेछ । कम्पनीले यी ड्राइभहरूको मूल्य समेत खुलाएको छैन ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८२ ११:२६
