close

विद्युत प्राधिकरणले भन्यो- ‘सिस्टममा ओभरलोड छ, राति ९ बजेपछि मात्र सिँचाइ मोटर चलाउनुस्’

टेकपाना टेकपाना

साउन ११, २०८२ १५:१८

विद्युत प्राधिकरणले भन्यो- ‘सिस्टममा ओभरलोड छ, राति ९ बजेपछि मात्र सिँचाइ मोटर चलाउनुस्’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निरन्तर वर्षा नभएसम्म सिँचाइका मोटर राति ९ बजेपछि मात्रै चलाउन आग्रह गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार एक सूचना जारी गर्दै वितरण लाइनको संरचना ओभरलोडमा सञ्चालन भई न्यून भोल्टेजको समस्या देखिएकाले राति ९ बजेपछि मात्रै सिँचाइका मोटर प्रयोग गर्न आग्रह गरेको हो ।

प्राधिकरणले वर्षाको समयमा अपेक्षाकृत पानी नपर्दा खडेरी निम्तिएपछि अत्यधिक मात्रामा सिँचाइ लोड बढेको जनाएको छ । बढेको लोड व्यवस्थापन गर्न विद्युत् लाइन तथा ट्रान्सफर्मर फेर्नका लागि चितवनमा लाइन अवरुद्ध हुने समय तालिका सार्वजनिक गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

चितवनको चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसनमा नयाँ भरतपुर आउने ३३ के.भी. लाइनमा बढेको अत्यधिक लोडका कारण समस्या देखिएको छ । त्यसलाई समाधान गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै प्राधिकरणले सो लाइन निर्माणपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने जनाएको छ । चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या प्राविधिक भएको भन्दै प्राधिकरणले बुधबारसम्ममा समाधान हुने दाबी गरेको छ ।

लामो समयदेखि तराईका जिल्लाहरूमा वर्षा नभएपछि खडेरीका कारण किसानहरू पीडित बनेका छन् । आकाशे पानी नपर्दा धान रोपाइँ प्रभावित बनेको छ । रोपाइँ गर्ने किसानहरू सिँचाइका उपकरणहरू चलाउन बाध्य भएपछि विद्युत् खपत बढ्दै गएको छ । वितरण लाइनको संरचनाले त्यसलाई धान्न नसकेपछि प्राधिकरणले बढी विद्युत् खपत गर्ने उपकरणहरू कम मात्रामा चलाउन आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १५:२३