close

जागिर र कामदार खोज्न मिल्ने सरकारी जब पोर्टल, न्यूनतम तलब १९,५००

टेकपाना टेकपाना

साउन १३, २०८२ १४:२३

जागिर र कामदार खोज्न मिल्ने सरकारी जब पोर्टल, न्यूनतम तलब १९,५००

काठमाडौँ । श्रमसम्बन्धी सबै सेवा एउटै पोर्टलबाट उपलब्ध गराने उद्देश्यसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको श्रम संसार औपचारिक रूपमा सञ्चालनमा आएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘श्रम संसार’ पोर्टल सर्वसाधारणका लागि खुला गरेको हो । 

यो पोर्टलबाट आन्तरिक तथा वैदेशिक रोजगारी खोज्ने, श्रमिक तथा कर्मचारी खोज्ने, विभिन्न तालिमका लागि आवेदन दिने, वैदेशिक रोजगारीका क्रममा आपत्कालीन अवस्था आएमा सरकारको सहयोग लिने लगायतका सुविधा लिन सकिनेछ । यी सबै सेवा निःशुल्क रूपमा उपलब्ध छन् । श्रम संसार वेबसाइट र एप दुबैमा उपलब्ध छ । एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सकिनेछ ।

गत १ मे २०२५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम संसार पोर्टल उद्घाटन गरेका थिए । तर, उद्घाटन भएपनि यो एप खासै सक्रिय थिएन । अब भने यो पोर्टल सक्रिय हुनुका साथै नागरिक एपसँग पनि जोडिएको छ । यससँगै नागरिक एपबाटै पनि श्रम संसार पोर्टल प्रयोग गर्न मिल्ने भएको छ । जसबाट नागरिक एपका ३० लाख बढी प्रयोगकर्ता पनि श्रम संसारमा जोडिने विश्वास मन्त्रालयले लिएको छ । 

श्रम संसारबाट देश-विदेशको रोजगारी खोज्न पनि सकिन्छ । जसमा म्यानपावर कम्पनी, स्वदेशी कम्पनी तथा जब एजेन्सीहरूले जागिर खुलाउन सक्छन् । श्रमिकले कसले कामदार तथा कर्मचारी खोजेको हो भनेर थाहा पाउन सक्छन् । रोजगारदाताहरू यो पोर्टलमा दर्ता हुँदा कम्पनीको कागजात पनि खुलाउनु पर्ने बनाइएको छ । यसआधारमा आधिकारिक कम्पनीले ‘ब्लु टिक’ पाउनेछन् । 

श्रम संसारमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक (१९ हजार ५०० रुपैयाँ) भन्दा कम तलबको रोजगारी राख्न नपाइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । पोर्टल तथा एप सम्बन्धी कुनै गुनासो भएमा त्यसको सुनुवाइका लागि वैदेशिक रोजगार विभागमा रहेको कल सेन्टर २४ घण्टा खुला रहने बताइएको छ । 

यस्तै विभिन्न सीप भएका स्वरोजगार व्यक्ति तथा सेवा प्रदायक संस्थाले पनि आफ्ना सेवा पोर्टलमा राख्न सक्छन् । प्लम्बिङ, इलेक्ट्रिसियन जस्ता सेवा चाहिएमा पनि श्रम संसारको पोर्टलमार्फत ‍खोज्न सकिनेछ । 

यदि कुनै रोजगारदाताले कामदार चाहेको विवरण श्रम संसारमा अपलोड गरेमा उक्त कामको प्रकृतिको सीभी भएका कामदारमा उक्त रोजगारीको नोटिफिकेसन पुग्छ । यसले कामदारलाई काम खोज्न थप सहज हुने बताइएको छ ।  यदि कुनै रोजगारदाताले विज्ञापन खुलाएर कर्मचारीलाई छनोट नगरेको पाइएमा कल सेन्टरबाट निगरानी गरेर प्रश्न पनि सोध्ने बताइएको छ । 

यस्तै निजी क्षेत्रसँगै नेपाल सरकारका विभिन्न निकायले दिने तालिमहरू पनि यही पोर्टलमार्फत हेर्न र आवेदन दिन सकिन्छ । ती तालिम नि:शुल्क वा सशुल्क हुन सक्छन् ।  यदि आफूले चाहे जस्तो तालिम नपाएमा पोर्टलबाटै गुनासो समेत गर्न सकिन्छ । उक्त गुनासोको आधारमा अत्यधिक माग भएका तालिमहरू समेत उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने बताइएको छ । 

मन्त्रालयका अनुसार भविष्यमा गैरसरकारी संस्था (आईएनजीओ) को जागिरको अवसर पनि पोर्टलमार्फत उपलब्ध हुनेछ । यस्तै सरकारले उपलब्ध गराउने अनुदान पनि पोर्टलमार्फत खुलाइने छ । 

श्रम संसारको एप, नागरिक एप र वेबसाइटबाट नै कामदारहरूले आफ्नो शैक्षिक योग्यता, व्यक्तिगत विवरण र आफूले चाहेको क्षेत्रको काम रोज्न सक्छन् । यसरी आफूले रोजेको क्षेत्रको विज्ञापन पोर्टलमा सबैभन्दा पहिले देखिनेछ । रोजगारदाताले भने विज्ञापन खुलाउन वेब पोर्टल नै प्रयोग गर्नुपर्नेछ ।  

वैदेशिक रोजगारीमा भएका व्यक्तिले आपत्कालीन उद्दार सेवा पनि श्रम संसारबाट लिने सकिने व्यवस्था मिलाइएको छ । श्रमिकहरूको जिज्ञासा समाधानका लागि एआई च्याटबट पनि सुरु गर्ने योजना पनि मन्त्रालयले बनाएको छ । सोही योजना अन्तर्गत पहिलो चरणमा १५ दिनभित्र साउदी अरबमा एआई च्याटबट सार्वजनिकको तयारी मन्त्रालयले गरेको छ । यस च्याटबटबाट श्रमिकको ८० प्रतिशत प्रश्नको समाधान एआईले दिने दाबी गरिएको छ । 

च्याट बटमा भ्वाइस कमान्ड पनि राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । च्याटबटले कुन सीप सिक्ने लगायतका जानकारी चाहने व्यक्तिलाई करिअर काउन्सिल समेत प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १५:१५