काठमाडौँ । बलिउड अभिनेता आमिर खान र जेनेलिया डिसुजा अभिनित फिल्म ‘सितारे जमीन पर’ हलमा प्रदर्शन भएको केही समयपछि सिधै युट्युबमा रिलिज हुने भएको छ । सन् २००७ को सफल फिल्म ‘तारे जमीन पर’ को ‘स्पिरिचुअल सिक्वेल’ (spiritual sequel) मानिएको यो फिल्मले कुनै पनि ओटीटी प्लेटफर्मलाई छोडेर दर्शकमाझ पुग्ने नयाँ माध्यम अपनाएको हो ।
मंगलबार मुम्बईमा आयोजित एक पत्रकार सम्मेलनमा अभिनेता खानले यो अनौठो घोषणा गरेका हुन् । हलमा २० जुनमा रिलिज भएको यो फिल्म १ अगस्टदेखि युट्युबमा उपलब्ध हुने उनले जानकारी दिए । भारतमा युट्युब दर्शकले १०० भारु तिरेर यो फिल्म हेर्न सक्नेछन् ।
भारतबाहेक अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जर्मनी, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर र स्पेनका दर्शकका लागि पनि फिल्म युट्युबमा उपलब्ध हुनेछ । ती देशमा स्थानीय बजारअनुसार मूल्य निर्धारण गरिने बताइएको छ । फिल्मलाई विभिन्न भाषामा सबटाइटल तथा केही प्रमुख भाषामा डबिङसहित उपलब्ध गराइने भएको छ ।
यो निर्णयबारे बोल्दै आमिर खानले भने, “विगत १५ वर्षदेखि म ती दर्शकहरूसम्म कसरी पुग्ने भन्ने चुनौतीसँग जुधिरहेको थिएँ, जो भौगोलिक रूपमा हलसम्म पुग्न सक्दैनन् वा अन्य कारणले फिल्म हेर्न असमर्थ छन् । अब त्यो समय आएको छ ।”
उनले भारत सरकारले ल्याएको यूपीआई प्रणाली विश्वमै डिजिटल भुक्तानीमा भारतको अग्रता र बढ्दो इन्टरनेट पहुँचका कारण युट्युबमार्फत भारत तथा विश्वका करोडौँ दर्शकसम्म पुग्न सम्भव भएको बताए ।
आर.एस. प्रसन्नाले निर्देशन गरेको ‘सितारे जमीन पर’ ले ‘तारे जमीन पर’ कै जस्तै भावनात्मक कथावस्तुलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ ८:५५
