close

च्याटजीपीटीमा आयो ‘स्टडी मोड’, विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य

टेकपाना टेकपाना

साउन १४, २०८२ १०:२

तस्बिर: ओपनएआई तस्बिर: ओपनएआई

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो च्याटबट च्याटजीपीटीमा ‘स्टडी मोड’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचरले प्रयोगकर्तालाई कुनै पनि प्रश्नको सोझो उत्तर दिनुको साटो सोच्दै अघि बढ्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

स्टडी मोड एक्टिभेट गरेपछि च्याटजीपीटीले प्रयोगकर्ताको बुझाइ परीक्षण गर्न उल्टै प्रश्नहरू सोध्ने, संकेत दिने र विषयवस्तुमा गहिरो संवाद गर्नेछ । शिक्षक र सिकाइ विज्ञहरूको सहकार्यमा विकास गरिएको यो फिचरले च्याटजीपीटीलाई ‘उत्तर दिने मसिन’ बाट ‘सिकाइ टुल’ मा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

यसले प्रयोगकर्तालाई सक्रिय रूपमा सहभागी गराउने, सूचनालाई सरल तरिकाले प्रस्तुत गर्ने, आत्म-जागरुकता बढाउने र उपयोगी सुझाव दिने जस्ता अनुसन्धानमा आधारित रणनीति‍ अपनाउने कम्पनीको भनाइ छ ।

सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि शैक्षिक क्षेत्रमा यसले विद्यार्थीको आलोचनात्मक सोच्ने क्षमतामा हानि पुर्‍याउने भन्दै चिन्ता व्यक्त गरिएको थियो । कतिपय अमेरिकी विद्यालयहरूले यसमाथि प्रतिबन्धसमेत लगाएका थिए । हालै सार्वजनिक एक अध्ययनले पनि च्याटजीपीटी प्रयोग गरेर निबन्ध लेख्नेहरूको मस्तिष्कमा कम सक्रियता देखिएको देखाएको थियो । यही आलोचनालाई सम्बोधन गर्न ओपनएआईले स्टडी मोड ल्याएको हो ।

कमन सेन्स मिडियाका एआई कार्यक्रमका वरिष्ठ निर्देशक रोबी टोर्नीले यसलाई एक सकारात्मक कदम भनेका छन् । उनले भने, “विद्यार्थीको सट्टामा काम गरिदिनुको साटो स्टडी मोडले उनीहरूलाई आफ्नो सिकाइप्रति आलोचनात्मक रूपमा सोच्न प्रोत्साहित गर्छ । यस्ता फिचरहरू सिकाइका लागि एआईको प्रभावकारी प्रयोगतर्फ एक सकारात्मक कदम हुन् ।”

यद्यपि, स्टडी मोडको प्रभावकारितामा केही सीमितता छन् । विद्यार्थीले चाहेमा सजिलैसँग यो मोड बन्द गरेर सामान्य मोडमा फर्कन सक्छन्, जहाँ सोझै उत्तर पाइन्छ । ओपनएआईकी शिक्षा उपाध्यक्ष लेह बेल्स्कीले हाल अभिभावक वा विद्यालयका लागि यो मोड अनिवार्य गर्ने (लक गर्ने) सुविधा नभएको तर भविष्यमा यसबारे सोच्न सकिने बताएकी छन् । 

यो फिचर च्याटजीपीटीका फ्री, प्लस, प्रो र टिम सबै प्रयोगकर्ताका लागि मंगलबारदेखि उपलब्ध गराइएको छ भने एडु (Edu) प्रयोगकर्ताका लागि केही हप्तामा आउनेछ । ओपनएआईले भविष्यमा यसमा भिजुअल सामग्री र लक्ष्य ट्र्याकिङ जस्ता सुविधा थप्ने योजना बनाएको छ । यसअघि अप्रिलमा प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकले पनि आफ्नो च्याटबट क्लाउडमा ‘लर्निङ मोड’ नामक यस्तै फिचर ल्याएको थियो ।

 

पछिल्लो अध्यावधिक: साउन १४, २०८२ १०:१८