close

एआई बजारमा ‘एन्थ्रोपिक’ को उछाल, छिट्टै २३६ खर्ब रुपैयाँको कम्पनी बन्दै

टेकपाना टेकपाना

साउन १४, २०८२ ११:६

एआई बजारमा ‘एन्थ्रोपिक’ को उछाल, छिट्टै २३६ खर्ब रुपैयाँको कम्पनी बन्दै

काठमाडौँ । लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) विकास गर्ने एआई स्टार्टअप एन्थ्रोपिकले थप पाँच अर्ब डलर (करिब ६ खर्ब ९५ अर्ब नेपाली रुपैयाँ) को नयाँ लगानी जुटाउने तयारी गरेको छ । यो लगानी चरणको नेतृत्व फेसबुकका संस्थापक मार्क जुकरबर्ग र ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीजस्ता प्रविधि क्षेत्रका दिग्गजहरूको सम्पत्ति व्यवस्थापन गर्ने चर्चित लगानी समूह ‘आइकनिक क्यापिटल’ले गर्न लागेको हो ।

यो सम्झौता सम्पन्न भएमा एन्थ्रोपिक विश्वका मूल्यवान् निजी प्रविधि कम्पनीहरूमध्ये एक बन्नेछ । हाल ओपनएआईको मूल्याङ्कन तीन खर्ब डलर र स्पेसएक्सको चार खर्ब डलर रहेको छ । एन्थ्रोपिकको मूल्याङ्कन पछिल्ला केही हप्तामा नाटकीय रूपमा बढिरहेको छ । जुलाईको मध्यतिर एक खर्ब डलर मूल्याङ्कनको चर्चा भएकोमा केही दिनअघि मात्रै यो बढेर एक खर्ब ५० अर्ब डलर पुगेको थियो ।

गत मार्चमा मात्रै कम्पनीले ३.५ अर्ब डलर लगानी जुटाउँदा यसको मूल्याङ्कन ६१.५ अर्ब डलर थियो । ‘आइकनिक क्यापिटल’ सँग हुने नयाँ सम्झौताले कम्पनीको मूल्याङ्कन झन्डै तीन गुणाले बढी एक खर्ब ७० अर्ब डलर (करिब २३६ खर्ब रुपैयाँ) पुर्‍याउने टेकक्रन्चले उल्लेख गरेको छ ।

कम्पनीको व्यापारमा भएको तीव्र वृद्धिले लगानीकर्ताहरूलाई आकर्षित गरेको हो । यस वर्षको सुरुदेखि हालसम्म कम्पनीको आय चार गुणाले बढेर चार अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो एआई मोडेल ‘क्लाउड’ (Claude) लाई व्यावसायिक क्षेत्रमा विस्तार गरिरहेको छ । जसमा हालै वित्तीय सेवाहरूका लागि लक्षित ‘क्लाउड फर फाइनान्सियल सर्भिसेज’ नामक विशेष सेवा पनि सुरु गरिएको छ ।

अर्कोतर्फ, एआई मोडेल विकासका लागि आवश्यक पर्ने ठुलो पुँजी जुटाउने क्रममा कम्पनीले मध्यपूर्वी देशहरूको ‘Sovereign Wealth Fund’ सँग पनि छलफल गरिरहेको छ । कतार इन्भेस्टमेन्ट अथोरिटी र सिङ्गापुरको जीआईसीजस्ता कोषसँगको यस सम्भावित लगानीलाई लिएर कम्पनीका सीईओ डारियो अमोदेईले भने असन्तुष्ट छन् ।

‘वायर्ड’ म्यागजिनले प्राप्त गरेको एक आन्तरिक मेमोमा अमोदेईले तानाशाही सरकारका कोषहरूबाट पैसा लिन आफू उत्सुक नभएको स्वीकार गरेका छन् । उनले लेखेका छन्, “दुर्भाग्यवश, मलाई लाग्छ ‘कुनै पनि खराब व्यक्तिले हाम्रो सफलताबाट फाइदा लिनु हुँदैन’ भन्ने सिद्धान्तमा व्यवसाय चलाउन निकै गाह्रो छ ।”

एन्थ्रोपिक र आइकनिक क्यापिटल दुवैले लगानी सम्झौताको विषयमा तत्काल कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।

-टेकक्रन्च सहयोगमा

पछिल्लो अध्यावधिक: साउन १४, २०८२ ११:२५