गुगलले ल्यायो भिओ थ्रीको शक्तिशाली संस्करण, तस्बिरबाटै आकर्षक भिडिओ बनाउन सकिने !
साउन १५, २०८२ ९:२८
तस्बिर क्रेडिट- गुगल
काठमाडौँ । गुगलले आफ्नो सबैभन्दा एडभान्स्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भिडिओ जेनेरेसन मोडेल ‘भिओ थ्री’ को अपग्रेडेड भर्सन ‘भिओ थ्री फास्ट’ सार्वजनिक गरेको छ । यो नयाँ संस्करण विशेषगरी व्यावसायिक प्रयोजनका लागि छिटो र प्रभावकारी भिडिओ उत्पादन गर्न तयार पारिएको हो ।
गुगलले बुधबार प्रकाशित गरेको एक ब्लग पोस्टमार्फत 'Veo 3 Fast' लाई गति र द्रुत पुनरावृत्ति (speed and rapid iteration) का लागि डिजाइन गरिएको बताएको छ । यो एआई भिडिओ जेनेरेटर गुगलको डेभलपर प्लेटफर्म ‘भर्टेक्स एआई’ (Vertex AI) मार्फत यसै वर्षको अगस्टदेखि उपलब्ध हुनेछ ।
गुगलले ‘भिओ थ्री’ र ‘भिओ थ्री फास्ट’ दुवैमा 'इमेज-टु-भिडिओ' (तस्बिरबाट भिडिओ) क्षमता पनि थप गरेको छ । यसको अर्थ अब प्रयोगकर्ताले स्थिर तस्बिरहरूबाट ८ सेकेन्ड लामो एआई-निर्मित भिडिओ क्लिपहरू बनाउन सक्नेछन् । यसका लागि प्रयोगकर्ताले एउटा स्रोत तस्बिर अपलोड गर्नुपर्छ र आफूले बनाउन चाहेको भिडिओको विवरण टेक्स्ट प्रम्प्टमा दिनुपर्छ ।
छोटो समयमै लाखौं भिडिओ निर्माण
सन् २०२५ को मे महिनामा गुगलको वार्षिक डेभलपर कन्फ्रेन्समा सार्वजनिक भएदेखि हालसम्म भिओथ्री प्रयोग गरेर कुल ७० लाख भिडिओहरू बनाइएको गुगलले जनाएको छ । यसै वर्षको जुनमा भर्टेक्स एआईमा सार्वजनिक पूर्वावलोकनका लागि उपलब्ध भएपछि गुगलका व्यवसायिक ग्राहकहरूले मात्रै ६० लाखभन्दा बढी भिडिओहरू बनाइसकेका छन् ।
‘भिओ थ्री फास्ट’ ले विज्ञापनदाताहरूलाई बजारको ट्रेन्डअनुसार छिट्टै विज्ञापनका विभिन्न अवधारणाहरू परीक्षण गर्न मद्दत पुर्याउनेछ । यसका साथै, कम्पनीहरूले आफ्ना उत्पादनहरूको स्थिर तस्बिरहरूका आधारमा पूरै उत्पादन सूचीको एआई-निर्मित भिडिओ बनाउन सक्नेछन् । एनिमेटेड व्याख्यात्मक भिडिओ र ट्रेनिङ मोड्युलहरू पनि यसबाट कम समयमा तयार पार्न सकिने गुगलले जनाएको छ ।
यसैबिच, डिपफेक जस्ता प्रविधिको दुरुपयोगको जोखिमलाई सम्बोधन गर्न गुगलले ‘Veo 3’ र ‘Veo 3 Fast’ बाट बनाइएका सबै भिडिओहरूमा 'सिन्थआइडी' (SynthID) नामक डिजिटल वाटरमार्क हरेक फ्रेममा इम्बेड गरिने बताएको छ ।
यसका साथै, कम्पनीले आफ्ना व्यवसायिक ग्राहकलाई प्रतिलिपि अधिकार हनन वा बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन जस्ता मुद्दामा कानुनी लागत बेहोर्ने वा सुरक्षा प्रदान गर्ने जनाएको छ । ‘Veo 3’ र ‘Veo 3 Fast’ हाम्रा जेनरेटिभ एआई सेवाहरूको क्षतिपूर्तिद्वारा कभर गरिएका छन्,” कम्पनीले भनेको छ ।
पछिल्लो अध्यावधिक: साउन १५, २०८२ ९:४०
