close

ट्रम्पको २५ प्रतिशत ट्यारिफले ‘मेड इन इन्डिया’ आईफोनमाथि संकट, मूल्य बढ्ने खतरा

टेकपाना टेकपाना

साउन १५, २०८२ ११:५३

ट्रम्पको २५ प्रतिशत ट्यारिफले ‘मेड इन इन्डिया’ आईफोनमाथि संकट, मूल्य बढ्ने खतरा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै भारतलाई प्रमुख उत्पादन केन्द्र बनाउने एप्पलको महत्त्वाकांक्षी योजनामा गम्भीर धक्का लाग्ने देखिएको छ । यो निर्णयले एप्पल, सामसङजस्ता ठुला इलेक्ट्रोनिक्स निर्यातकर्तालाई स्तब्ध बनाएको र भारतको उत्पादन क्षेत्रको भविष्यमाथि नै प्रश्न खडा गरेको विश्लेषण गरिएको छ ।

राष्ट्रपति ट्रम्पले बुधबार भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । यसका साथै रुसबाट तेल आयात गरेबापत भारतमाथि थप अपरिभाषित प्रतिबन्धहरू पनि लगाइने उनले संकेत दिएका छन् । यो नयाँ भन्सार नीति आगामी १ अगस्टदेखि लागु हुनेछ ।

यो निर्णय यस्तो समयमा आएको छ, जब एप्पलको आईफोन उत्पादनलाई अमेरिका निर्यात गर्ने मामिलामा भारतले चीनलाई उछिनेको थियो । हालैको एक तथ्याङ्कअनुसार सन् २०२५ को दोस्रो त्रैमासमा अमेरिकामा बिक्री भएका कुल आईफोनमध्ये ४४ प्रतिशत भारतमा बनेका थिए भने चीनको हिस्सा ६१ प्रतिशतबाट घटेर २५ प्रतिशतमा झरेको थियो ।

तर, ट्रम्पको पछिल्लो घोषणाले यो ‘सफलता’ लाई जोखिममा पारेको छ । एप्पलले वार्षिक करिब ६ करोड आईफोन अमेरिका निर्यात गर्दछ, जुन उसको कुल ढुवानीको २५ प्रतिशत हो । ट्रम्पले ल्याएको नयाँ नियमअनुसार भारतबाट निर्यात हुने प्रत्येक आईफोनमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ । यसले गर्दा अमेरिकी बजारमा भारतीय उत्पादन महँगो पर्न जानेछ ।

ट्रम्पको यो निर्णयले भारतमा एप्पलको उत्पादनलाई मात्र असर गर्ने छैन । यसले अमेरिकी उपभोक्ताका लागि आईफोनको मूल्य पनि बढाउन सक्छ । भारतबाट अमेरिकामा आईफोन निर्यात गर्दा लाग्ने अतिरिक्त लागत एप्पलले अन्ततः उपभोक्ताको थाप्लोमा हाल्ने सम्भावना प्रवल छ । यदि एप्पलले यो घाटा आफैँ व्यहोर्ने वा आफ्नो उत्पादन केन्द्र अन्यत्र सार्ने निर्णय गरेमा मात्र अमेरिकामा आईफोनको मूल्य बढ्ने छैन ।

विज्ञ र उद्योगीहरूको चिन्ता

यस घोषणाले भारतको उत्पादन क्षेत्रमा ठुलो असर पार्ने विज्ञहरूले बताएका छन् । आईडीसी इन्डियाका अनुसन्धान उपाध्यक्ष नवकेन्दर सिंहले भनेका छन्, “अमेरिकामा निर्यात गर्न भारतलाई ठुलो हब बनाउने एप्पलको योजनामा यो घोषणाले प्रत्यक्ष असर गर्नेछ । अमेरिकाको माग पूरा गर्न भारतमा उत्पादन क्षमता बढाउनुपर्ने थियो, तर नयाँ भन्सारले त्यो विस्तारलाई सोझै प्रभावित पार्नेछ ।”

त्यसैगरी, साइबरमिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामका अनुसार मागमा आउने कमीले एप्पललाई आफ्नो आपूर्ति शृंखला (सप्लाई चेन) बारे पुनर्विचार गर्न बाध्य बनाउन सक्छ ।

एक शीर्ष उद्योग अधिकारीले नाम नबताउने शर्तमा भनेका छन्, “यदि यो भन्सार दर कायम रह्यो भने भारतले अमेरिकी बजारका लागि गरिरहेको उत्पादन व्यवसाय गुमाउनेछ । एप्पल र सामसङजस्ता कम्पनीहरूले भारतमा बनेका उत्पादनहरू अमेरिकाको सट्टा युरोप र एसियाका बजारमा पठाउन थाल्नेछन् ।”

सामसङको अवस्था पनि उस्तै छ । भारतबाट अमेरिकामा स्मार्टफोन निर्यात सुरु गरेको सामसङले पनि अब आफ्ना योजनाहरूको पुनर्मूल्याङ्कन गर्न सक्नेछ । सामसङको भियतनाममा विशाल उत्पादन केन्द्र छ । जहाँबाट अमेरिका निर्यात गर्दा भारतको तुलनामा कम (२१ प्रतिशत) भन्सार शुल्क लाग्छ ।

अर्थशास्त्री गरिमा कपुरका अनुसार यो २५ प्रतिशतको भन्सार दरले भारतलाई भियतनाम, इन्डोनेसिया, फिलिपिन्सजस्ता प्रतिस्पर्धी देशहरूभन्दा पछाडि पार्नेछ । उनले भनेकी छन्, “यदि सेप्टेम्बर-अक्टोबरसम्म कुनै द्विपक्षीय व्यापार सम्झौता भएन भने भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि अनुमानमा २० आधार अङ्कले गिरावट आउन सक्छ ।”

अहिले सबैको नजर भारत र अमेरिकाबिच जारी द्विपक्षीय व्यापार वार्तामा टिकेको छ । यही वार्ताले नै भारतको इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रको भविष्य निर्धारण गर्ने देखिन्छ ।

-टाइम्स अफ इन्डियालाइभ मिन्टको सहयोगमा 

पछिल्लो अध्यावधिक: साउन १५, २०८२ ११:५३