close

१७ वर्षीय रौनक खनालको ईकमर्स कम्पनी ‘टी पसल’ ले पायो मागेभन्दा दोब्बर लगानी

५० लाखको ईकमर्स डिल

टेकपाना टेकपाना

साउन १६, २०८२ १३:४४

१७ वर्षीय रौनक खनालको ईकमर्स कम्पनी ‘टी पसल’ ले पायो मागेभन्दा दोब्बर लगानी

काठमाडौँ । शार्क ट्याङ्क नेपालको पछिल्लो एपिसोडमा १७ वर्षीय रौनक खनालले आफ्नो अनलाइन बिजनेस प्लेटफर्म ‘टी पसल’को लागि माग गरेभन्दा दोब्बर लगानी पाएका छन् । जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा कक्षा १२ मा अध्ययनरत रौनकले कम्पनीलाई एक करोड रुपैयाँ मूल्याङ्कन गर्दै २५ प्रतिशतमा २५ लाख रुपैयाँ माग गरेका थिए ।

कम्पनीलाई विश्वबजारको ‘फास्ट-फेसन’ मा क्रियटिभ प्लेटफर्मको रूपमा स्थापित गर्न भन्दै उनले उक्त रकम शार्कसँग माग गरेका थिए । उनको अफरलाई तत्काल स्वीकार गर्दै शार्क क्याबिनेट श्रेष्ठले २५ प्रतिशत इक्विटीमा २५ लाख रुपैयाँ अफर गरे । तत्कालै रौनकले पनि उक्त अफरमा सहमति जनाए । तर अन्य शार्कहरू उक्त अफरमा सन्तुष्ट भएनन् । 

शार्क हेमराज ढकालले भने, “हामीलाई चाहिँ अफर नै गर्न नदिने ?” त्यसपछि शार्क हेमराज र आनन्द बगरियाले ५० प्रतिशत इक्विटीमा ५० लाख रुपैयाँ लगानीको प्रस्ताव गरे । रौनकले कमाउँदै लगानी रकम फिर्ता गरेर इक्विटी फिर्ता लिन चाहेमा आफूहरू भविष्यमा आउट समेत भइदिने उनीहरूको प्रस्ताव थियो । 

त्यसपछि रौनकले काउन्टर अफर दिँदै तीनै जना शार्क मिलेर ५० प्रतिशत इक्विटीमा ५० लाख रुपैयाँ लगानीको प्रस्ताव गरे । यसमा शार्क क्याबिनेटले भने आफ्नो हिस्साको इक्विटी फिर्ता नलिने र दीर्घकालीन लगानी गर्न चाहेको बताए । जुन अफर रौनकले स्वीकार्दै तीन जना शार्कको संयुक्त लगानीमा डिल फाइनल गरे । 

के हो टी पसल ?

रौनकका अनुसार टी पसल त्यस्तो अनलाइन प्लेटफर्म हो, जसले हरेक ग्राहकलाई नयाँ र फरक डिजाइनका टिसर्टहरू बिक्री गर्छ । जहाँ आर्ट डिजाइनर (कलाकार)ले आफ्नो फरक-फरक डिजाइन टी पसलको अनलाइन प्लेटफर्ममा रजिस्टर गरेर राख्न सक्छन् । ग्राहकले ती डिजाइन मन पराएर अर्डर गर्न सक्छन् ।

टी पसलले आर्ट डिजाइनरको डिजाइनमा ग्राहकको चाहना अनुसारको कपडा बनाएर ग्राहकलाई डेलिभरी गर्छ । ग्राहकले उक्त डिजाइनको कपडा खरिद गरेपछि डिजाइनरले नाफाको निश्चित प्रतिशत रकम प्राप्त गर्छन् । प्लेटफर्ममा डिजाइनरले निःशुल्क आफ्नो आर्ट राख्न पाउँछन् भने सहजै आफ्नो आम्दानी पनि पाउन सक्छन् । 

कटनको कपडाको प्रयोगबाट टी पसलले लुगा तयार पार्ने उनले बताए । हालसम्म टी पसलमा ४० भन्दा धेरै कलाकार जोडिएको उनले बताए । १२ लाख ५० हजार रुपैयाँ बराबरको फरक-फरक डिजाइनका कपडा बिक्री गरेको उनले बताए । उनका अनुसार एक वर्षमा ८५० बढी टिसर्ट र १०० भन्दा धेरै हुडी बिक्री भइसकेको छ । 

लकडाउनको समयमा कक्षा ८ मा पढिरहँदा उनी अनलाइनमा केही काम गर्न सकिन्छ कि भनेर खोजी गर्थे । सोही समयमा उनले डिजिटल मार्केटिङ र प्रोग्रामिङ पनि सिक्न सुरु गरे । कक्षा ९ मा पढ्दा ग्राफिक डिजाइनिङ पनि सिके । 

त्यसपछि एकजना दाइसँग मिलेर डिजिटल मार्केटिङमा फ्रिल्यान्सिङ सुरु गरे । सोही क्रममा अमेरिकाको एक गिफ्टिङ वेबसाइटसँग प्रभावित भएर टी पसल खोल्ने योजना अघि बढाएका थिए । दाइ अन्य काममा व्यस्त भएपछि एक्लैले टी पसल खोलेर डेढ वर्षदेखि सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८२ १४:१७