काठमाडौँ । टिकटकले २०२५ को पहिलो त्रैमासमा नेपालबाट अपलोड भएका १८ लाख बढी भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार सन् २०२५ को जनवरीदेखि मार्चसम्म नेपालमा मात्रै १८ लाख ७६ हजारभन्दा बढी भिडिओ हटाइएका छन् । नेपालमा हटाइएका मध्ये ९९.६ प्रतिशत भिडिओहरू टिकटकले स्वचालित प्रणालीमार्फत सक्रिय रूपमा पहिचान गरी हटाएको हो । तीमध्ये ९७.८ प्रतिशत भिडिओहरू अपलोड भएको २४ घण्टाभित्रै हटाइएको रिपोर्टमा उल्लेख छ ।
विश्वव्यापी रूपमा टिकटकले यो त्रैमासमा कुल २१ करोड १० लाख भिडिओ हटाएको छ । यो भनेको टिकटकमा अपलोड भएका सबै कन्टेन्टको लगभग ०.९ प्रतिशत हो । प्रयोगकर्ताले फिर्ता गर्ने अपिल गरेकामध्ये कुल ७५ लाख २५ हजारभन्दा बढी भिडिओ पुनः उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
रिपोर्ट अनुसार हटाइएका भिडिओमध्ये सबैभन्दा ठुलो हिस्सा (४५.५ प्रतिशत) भ्रामक सूचना तथा अफवाह फैलाउने खालका थिए । यसैगरी ३०.१ प्रतिशत भिडिओ संवेदनशील वा परिपक्व विषयवस्तुका कारण हटाइएको थियो ।
त्यस्तै १५.६ प्रतिशतले गोपनीयता र सुरक्षासम्बन्धी नियम उल्लङ्घन गरेका थिए । १३.८ प्रतिशत सम्पादित मिडिया र एआई-निर्मित भ्रामक सामग्री थए भने बाँकी ११.५ प्रतिशत भिडिओ सुरक्षा र शिष्टाचारको मापदण्ड विपरीत थिए ।
यस रिपोर्टबारे विस्तृत जानकारीका लागि टिकटकको ‘ट्रान्सपरेन्सी सेन्टर’ हेर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन १६, २०८२ १७:४०
