बिकट गाउँका परिवारलाई स्वच्छ पानीको व्यवस्था गर्न युट्युबर मिस्टर बिस्टको टिम नेपालमा
साउन १७, २०८२ १५:५३
काठमाडौँ । विश्वका सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर जिमी डोनाल्डसन उर्फ ‘मिस्टर बिस्ट’को टिमले नेपालको एक बिकट गाउँमा ‘स्वच्छ खानेपानी’ परियोजना अगाडि सारेको छ । ‘टिम वाटर' (#TeamWater) नामक विश्वव्यापी अभियान अन्तर्गत यो परियोजना नेपालमा सुरु भएको हो ।
शुक्रबार मिस्टर बिस्ट, मार्क रोबर, स्टोक्स ट्विन्स र बेन अज्लार्टले संयुक्त रूपमा अपलोड गरेको भिडिओमा नेपालको एक गाउँको अवस्था समेटिएको छ । यद्यपि जिल्ला वा गाउँको नाम खुलाइएको छैन ।
टिम वाटरले पहिलो चरणमा विश्वका २० लाख मान्छेलाई स्वस्थ पानी उपलब्ध गराउने लक्ष्य लिएको छ । यसअन्तर्गत नेपालको उक्त समुदायका करिब ३०० जनालाई प्रत्यक्ष लाभ पुर्याउने बताइएको छ ।
यसअघि त्यहाँका स्थानीय बासिन्दा घुमाउरो पहाडी बाटो हिँडेर पानीको धारासम्म पुग्नुपर्थ्यो र केवल कपडाको टुक्राले पानी छानेर पिउन बाध्य थिए । यो समस्यालाई समाधान गर्न मिस्टर बिस्टको टोलीले ‘वाटर एड’ (WaterAid) नामक संस्थासँगको सहकार्यमा १५-१५ हजार लिटर क्षमताका तीन ओटा ट्याङ्की निर्माण सुरु गरेको देखाइएको छ ।
यी ट्याङ्कीमा पानीलाई शुद्ध, कीटाणुरहित र पिउनका लागि पूर्ण रूपमा सुरक्षित बनाउने आधुनिक प्रणाली जडान हुने बताइएको छ । परियोजनाका अनुसार यो खानेपानी ट्याङ्की निर्माण गर्न २,७०० किलोग्रामभन्दा बढी कङ्क्रिट प्रयोग हुनेछ । टिमका सदस्यले दिनमा १८ घण्टासम्म काम गरेर परियोजनालाई समयभन्दा चाँडै सम्पन्न गर्ने सङ्कल्प लिएको भिडिओमा उल्लेख गरिएको छ ।
यो परियोजना कम्तीमा १५ देखि २० वर्षसम्म समुदायका लागि उपयोगी हुने अनुमान गरिएको छ । परियोजना निर्माण मात्र नभई यसको मर्मतसम्भार र दिगोपनका लागि पनि ‘वाटर एड’ले स्थानीय सरकारसँग समन्वय गर्नेछ । यसले गर्दा दशकौंसम्म यसले सेवा दिन सक्ने लक्ष्य राखिएको छ ।
यो काम कहिले सुरु भएको थियो अनि भिडिओ आउने बेलासम्म यसको अवस्था के छ भन्ने विषय खुलाइएको छैन ।
यो पहल मिस्टर बिस्ट र अर्का युट्युबर मार्क रोबरको ‘#TeamWater’ अभियानको एक हिस्सा हो । यस अभियानले विश्वभरका खाँचोमा परेका मानिसहरूलाई स्वच्छ पानी उपलब्ध गराउन चार करोड अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, “कसैले पनि पानीबिना बाँच्नु नपरोस् भनेर हामीले स्वच्छ पानीको अभियान सुरु गरेका हौँ ।”
यसअघि उनीहरूको ‘#TeamTrees’ र ‘#TeamSeas’ अभियानले क्रमशः रूख रोप्न र समुद्र सफा गर्न पाँच करोड डलरभन्दा बढी रकम उठाएर विश्वभर प्रशंसा कमाएको थियो ।
पछिल्लो अध्यावधिक: साउन १७, २०८२ १६:१०
