सामसङ ग्यालेक्सी जेड फोल्ड ७ र फ्लिप ७ नेपाल आउँदै, रु. ५ हजारमा अग्रिम बुकिङ सुविधा
साउन १७, २०८२ १८:३३
काठमाडौँ । सामसङले नेपाली बजारमा आफ्ना दुई नयाँ फोल्डेबल (पट्याउन मिल्ने) स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड सेभेन र ग्यालेक्सी जेड फ्लिप सेभेन अग्रिम-बुकिङ (pre-order) मिति घोषणा गरेको छ । विश्वव्यापी रूपमा सार्वजनिक भएलगत्तै नेपालमा यी फोन आउँदो २३ साउनदेखि ३० साउनसम्म अग्रिम-बुकिङका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी जेड फोल्ड सेभेनलाई कम्पनीले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजको फोनको रूपमा प्रस्तुत गरेको छ । यसमा आकर्षक डिजाइन, उच्चस्तरीय क्यामेरा र एआई प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ । यो फोन पट्याउँदा सामान्य स्मार्टफोनजस्तो देखिन्छ भने खोल्दा एउटा ट्याब्लेटजस्तै ठुलो र फराकिलो स्क्रिनमा परिणत हुन्छ । जसले एकैपटक धेरै काम गर्न (मल्टी-टास्किङ) र भिडिओ हेर्न उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, यसको मुख्य डिस्प्ले अघिल्लो संस्करण (जेड फोल्ड सिक्स) भन्दा ११% ठुलो छ । फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा छ । साथै, ब्याट्रीको क्षमता उस्तै भए पनि सफ्टवेयर सुधारका कारण यसले लामो समयसम्म काम गर्नेछ ।
त्यस्तै, ग्यालेक्सी जेड फ्लिप सेभेनलाई दैनिक प्रयोगका लागि सहज हुने गरी बनाइएको छ । यसको मुख्य आकर्षण भनेको बाहिरी भागमा रहेको ४.१ इन्चको ठुलो 'फ्लेक्सविन्डो' (FlexWindow) स्क्रिन हो । यो स्क्रिनबाट फोन नखोलीकनै विभिन्न एप चलाउन र आवश्यक कामहरू गर्न सकिन्छ ।
यसको मुख्य क्यामेरामा स्टेबलाइजेसन (stabilization) र कलरको गुणस्तरमा सुधार गरिएको छ भने तापक्रम व्यवस्थापन (thermal management) र सफ्टवेयरमा गरिएको सुधारले ब्याट्रीको आयु पनि लम्ब्याइएको छ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल बिजनेस प्रमुख प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी जेड फोल्ड सेभेनले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।”
कसरी गर्ने अग्रिम-बुकिङ ?
नेपालमा दुवै फोनको २५६ जीबी स्टोरेज भएको संस्करण अग्रिम-बुकिङका लागि उपलब्ध हुनेछ । बुकिङका लागि ग्राहकले सामसङको आधिकारिक वेबसाइटमा गएर वा त्यहाँ दिइएको क्यूआर कोड (QR Code) स्क्यान गरेर दर्ता गर्नुपर्नेछ ।
दर्ता प्रक्रिया पूरा गरेपछि रु ५,००० अग्रिम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीपश्चात् ग्राहकले आफ्नो मोबाइलमा एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् । सोही ओटीपी देखाएर ग्राहकले आफूले रोजेको स्टोरबाट आफ्नो नयाँ फोल्डेबल फोन प्राप्त गर्दा पर्चेज (खरिद) प्रमाणित गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन २५, २०८२ ११:६
