काठमाडौँ । कलर आईडी तथा स्प्याम ब्लकिङ एप ट्रुकलरले आईफोन प्रयोगकर्ताका लागि कल रेकर्डिङ सुविधा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले आउँदो ३० सेप्टेम्बरदेखि यो सुविधा बन्द गर्ने निर्णय लिएको हो ।
टेकक्रन्चसँगको कुराकानीमा ट्रूकलरका आईओएस प्रमुख नकुल काब्राले अब ‘लाइभ कलर आईडी’ र ‘अटोमेटिक स्प्याम कल ब्लकिङ’ जस्ता सुविधामा बढी ध्यान केन्द्रित गर्न चाहेकाले कल रेकर्डिङ बन्द गर्ने निर्णय लिइएको बताएका छन् ।
यो सुविधा कम्पनीले २०२३ को जुन महिनामा पहिलोपटक आईफोनका प्रिमियम प्रयोगकर्ताका लागि सुरु गरेको थियो । त्यसपछि मात्र एन्ड्रोइडमा पनि विस्तार गरिएको थियो । तर, एप्पलले थर्ड पार्टी एपमार्फत कल रेकर्डिङ गर्न अनुमति नदिएकाले ट्रूकलरले रेकर्डिङ लाइन मर्ज गर्ने प्रविधि प्रयोग गरिरहेको थियो ।
काब्राका अनुसार यस्तो प्रविधिको प्रयोगले प्रविधिक जटिलता बढाउनुका साथै खर्चसमेत अत्यधिक बढेको थियो ।
सामाजिक सञ्जाल एक्समा धेरै ट्रुकलर प्रयोगकर्ताहरूले यतिबेला एउटा सूचना शेयर गरेका छन् जसमा भनिएको छ, “हामी आईफोनका लागि ट्रुकलरमा कल रेकर्डिङ सुविधा बन्द गर्दैछौं ।” उक्त पप-अप मेसेजमा यो सुविधा प्रायः प्रयोग गर्नेहरूलाई आफ्ना रेकर्डिङहरू डाउनलोड गर्न पनि आग्रह गरिएको छ । किनभने ३० सेप्टेम्बरपछि सबै रेकर्डिङहरू मेटिनेछन् ।
कसरी सुरक्षित गर्ने आफ्नो रेकर्डिङ ?
आईफोनमा कल रेकर्डिङ सुरक्षित गर्न प्रयोगकर्ताले आफ्नो फोनमा ट्रुकलर एप खोलेर ‘रेकर्ड’ ट्याबमा जानुपर्नेछ । त्यसपछि सेटिङ्स आइकनमा ट्याप गरी ‘स्टोरेज प्रिफरेन्स’ नामक विकल्पमा क्लिक गरेर त्यसलाई ‘आईक्लाउड स्टोरेज’ मा परिवर्तन गर्नुपर्छ ।
यदि कुनै निश्चित रेकर्डिङ मात्र डाउनलोड गर्न चाहनुहुन्छ भने ‘रेकर्ड’ ट्याबमा गएर आफूले सेभ गर्न चाहेको रेकर्डिङमा बायाँतर्फ स्वाइप गर्नुपर्छ । त्यसपछि ‘शेयर’ वा ‘एक्सपोर्ट’ अप्सनमा ट्याप गरेर रेकर्डिङ कहाँ सेभ गर्ने भन्ने छनोट गर्न सकिन्छ । यसबारे विस्तृत जान्न यहाँ क्लिक गर्नुहोस् ।
एप्पलले आईओएस १८.१ मार्फत आफ्नै नेटिभ कल रेकर्डिङ सुविधा ल्याउने निर्णय गरेसँगै ट्रुकलरले आईफोनमा कल रेकर्डिङ सुविधा बन्द गर्ने तयारी थालेको हो । एप्पलको यो नेटिभ सुविधा प्रयोग गर्न प्रयोगकर्ताले रेकर्डिङ लाइनसँग कल मर्ज गर्नुपर्ने आवश्यकता पर्दैन । साथै, यो सुविधामा एप्पल इन्टेलिजेन्सको सहायताबाट ट्रान्सक्रिप्सन (बोलेका कुरालाई टेक्स्टमा उतार्ने) क्षमता पनि समावेश गरिएको छ ।
ट्रूकलरले सुरुवातमै कल रेकर्डिङ सुविधा आईफोन प्रयोगकर्तालाई प्रिमियम सदस्यता लिन प्रोत्साहन गर्नका लागि ल्याएको थियो । किनभने निःशुल्क संस्करणमा कलर आईडी सुविधा सीमित रहेको छ । पेड प्रयोगकर्ताले रियल-टाइम कलर आईडी, एड्भान्स्ड तथा स्वचालित स्प्याम ब्लकिङ, सिरी सर्टकट, इन्कग्निटो मोड लगायतका थप सुविधा प्राप्त गर्छन् ।
ट्रूकलरका विश्वभर करिब ३० लाख सब्सक्राइबर छन् । कम्पनीको २०२५ को दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार कुल प्रिमियम आम्दानीको ४४ प्रतिशत हिस्सा मात्र आईओएस प्रयोगकर्ताबाट आउने गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १३:४
