close

लक्जरी सुविधा सहित नेपाल भित्रियो जिलीको ईएक्स फाइभ सिरिज, सुरुवाती मूल्य ५८ लाख रुपैयाँ

टेकपाना टेकपाना

साउन १९, २०८२ १४:४२

लक्जरी सुविधा सहित नेपाल भित्रियो जिलीको ईएक्स फाइभ सिरिज, सुरुवाती मूल्य ५८ लाख रुपैयाँ

काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी जिलीले नेपाली बजारमा आफ्नो नयाँ ईभी सिरिज ‘ईएक्स ५’ (EX5) सार्वजनिक गरेको छ । नेपालस्थित आधिकारिक वितरक एलआरआर मोटर्समार्फत कम्पनीले ‘ईएक्स ५ प्रो’ र ‘ईएक्स ५ म्याक्स’ गरी दुई मोडेल भित्र्याएको हो ।

ईएक्स ५ प्रो को मूल्य ५८ लाख र ईएक्स ५ म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ । ब्याट्री क्षमता र प्रविधिका आधारमा यी मोडेलले नेपाली बजारमा बलियो प्रतिस्पर्धा प्रस्तुत गर्ने कम्पनीको विश्वास छ ।

दुवै मोडेलमा ६०.२ किलोवाट-आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ । निर्माता कम्पनी जिलीका अनुसार यो ब्याट्री विश्वकै पहिलो वाटर, फायर र बुलेट प्रुफ सर्टिफाइड ब्याट्री हो । यसको आयु ३५ सय पटक चार्ज गर्न मिल्ने (करिब १० लाख किमि) रहेको कम्पनीले जनाएको छ ।

एलआरआर मोटर्सले ब्याट्रीमा आठ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिनेछ ।

कम्पनीका अनुसार गाडीमा जडित १६० किलोवाट क्षमताको मोटरले ६.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । त्यस्तै एक पटकको फुल चार्जमा डब्लूएलटीपी मापन अनुसार ४३० किलोमिटर र सीएलटिसी परीक्षण अनुसार ५३० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

आधुनिक एरोडाइनामिक डिजाइनमा आधारित गाडी‍मा एलईडी हेडलाइट, १५.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ लगायतका सुविधा छन् ।

‘ईएक्स ५ म्याक्स’ मोडेलमा थप हेडअप डिस्प्ले, हिटिङ, भेन्टिलेसन र मसाजिङ सुविधा भएको सिट तथा फ्लाईमी (Flyme) साउन्ड सिस्टम जस्ता लक्जरी फिचर पनि छन् । त्यस्तै सुरक्षाका लागि ६ ओटा एयरब्याग, एबीएस, ब्लाइन्ड स्पट मोनिटरिङ जस्ता प्रविधि छन् ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १४:५२