एनसेलले सुरु गर्यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ, भारतमा एयरटेलसँग सहकार्य
साउन १९, २०८२ १८:३९
काठमाडौँ । एनसेलले नेपाल आउने विदेशी र बाहिर जाने आफ्ना ग्राहकहरूका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ । पहिलो चरणमा कम्पनीले भारतीय अपरेटर एयरटेलसँगको सहकार्यमा भारत जाने आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको हो ।
यससँगै अब एनसेल प्रयोगकर्ताले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गर्न सक्नेछन् ।
एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरूलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले सेवा विस्तार गर्दै सोमबारदेखि लागु हुनेगरी भारत जाने ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा दिन थालेको हो ।
भोल्टे दूरसञ्चार क्षेत्रको नयाँ प्रविधिमध्येको एक हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुन उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्छ ।
ग्राहकलाई भारत भ्रमणका बेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षणहरू गरिरहेको एनसेलले जनाएको छ ।
एनसेलले भारतको जिओ र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानको सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ ।
इनबाउन्ड भोल्टे रोमिङका लागि एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल (चीन), ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम)का ग्राहकलाई भोल्टे रोमिङ सेवा दिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १८:३९
